नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ । लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३–१ सेटको जित हात पारेको हो ।

अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ । नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए । सोमबार नै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जीत हात पारेको छ ।

दुवै खेलमा भारतले ३–० को सोझो सेटमा जित हात पार्यो । भारत सेमिफाइनलमा पुगिसकेको छ । यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्स लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नेपाली टोली महिला तर्फ सोमबार भएको खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३–० कै सेटमा पराजित गर्यो ।

त्यस्तै श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको छ । भारत महिला तर्फपनि सेमिफाइनलमा पुगिसकेको छ । महिलातर्फ नेपाली टोलीले श्रीलंकासँग ३–० सेटमा पराजित भएको छ । नेपाली महिला टोलीले मंगलबार बंगलादेशसँग खेल्नेछ । मंगलबार बिहान लिग चरणकम बाँकि खेल हुनेछन् भने सेमिफाइनल दिउँसो १ः३० बजे सुरु हुनेछ । यस्तै टिम इभेन्ट महिला र पुरुष मंगलबार ४ बजे फाइनल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...