राष्ट्रिय खेलकुद : टेबलटेनिसमा श्यान्टु र नविता सिंगल्स च्याम्पियन

आठौंअन्तर्गत राष्ट्रिय टेबलटेनिसको सिंगल्स विजेता विजेता स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ ।

दाङ (खेलदैनिक) । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए ।

दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले आफ्नै क्लबका प्रदीप रोकालाई ११–१, ११–५, ११–६ र ११–५ को सोझो सेटमा पराजित गरे । शनिबारै भएको सेमिफाइनलमा श्यान्टुले एपीएफका शिवसुन्दर गोथेलाई ४–० तथा प्रदीपले एपीएफका विलोश श्रेष्ठलाई ४–२ ले हराउदै उपाधि भिडन्त पक्का गरे थिए । पराजयसंगै शिव र विलोशले तेश्रो स्थानमा रहे ।

महिला उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई ११–७, ११–५, ७–११, ११–९, ९–११ र १२–१० को सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङले तेश्रो स्थानमा चित्त बुझाए । सेमिफाइनलमा नविताले दीक्षालाई ४–० तथा एलिनाले रविनालाई ४–२ ले निराश पारेका थिए ।

विजेतालाई प्रदेश सांसद अमर डाँगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (आर्मी–प्रहरी–एपीएफ) बाट १ सय ६० खेलाडी सहभागी थिए । विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

लनटेनिस : दिदीभाइलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए ।

पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीलाई ६–३, ६–३ तथा एपीएफका इभान हो लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेट हराउदै फाइनलमा स्थान बनाए ।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडीले प्रदेश ४ का श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरे । प्रतियोगिताअन्तर्गत आइतबार पुरुष÷महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...