टीटीमा आरुणी च्याम्पियन

काठमाडौं (खेलदैनिक) । आरुणी मावि दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत टेबलटेनिसमा सोमबार टिम च्याम्पियन बनेको छ । नेसनल प्याब्सनद्वारा आयोजित प्रतियोगितामा आरुणी १६ अंकसाथ टिम च्याम्पियन बनेको हो । ५ अंकसाथ ग्रिनफिल्ड दोश्रो तथा ४ अंकसाथ दिब्यज्ञान तेश्रो भए ।

टेबलटेनिसमा समावेश ४ सिंगल्स स्पर्धामा आरुणीले ३ स्वर्ण जित्यो । सिनियरको ब्वाइजमा क्षितिज खरेल र गल्र्समा दीपिका लामिछाने तथा जुनियर ब्वाइजमा प्रशान्त थापाले आरुणीलाई स्वर्ण दिलाए । जुनियर गल्र्समा दिब्यज्ञानकी रेबिका कुरेल पहिलो भइन् ।

बालाजुको माछापोखरीस्थित आरुणी माविमा भएको टेबलटेनिसमा विभिन्न २१ विद्यालयका १ सय ४ प्रतिस्पर्धी सहभागी थिए । टुंडिखेलमा भएको ब्वाइज क्रिकेटमा भीमेश्वर एकेडेमीले विजयी सुरुआत गरेको छ । १० ओभरको प्रतिस्पर्धामा भीमेश्वरले ग्रिनफिल्डलाई ८ विकेटले पराजित गर्यो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । पुस ९ गतेसम्म चल्ने स्पोर्ट्स मिटमा टेबलटेनिस र क्रिकेट बाहेक ब्वाइज बास्केटबल र फुटसल समावेश छन् ।

लपुबाट टीटी खेलाडी छनोट

त्यसैगरी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ललितपुरबाट समान ५–५ पुरुष÷महिला टेबलटेनिस खेलाडीले जिल्ला छनोट पार गरेका छन् ।

पुरुषमा रितिज जोशी, एलेक्स महर्जन, संयोग कपाली, कुशल न्याछो र विपुल महर्जन छनोट भए । महिलामा बियांका राई, लस्ता महर्जन, अनुष्का प्रसाईं, निकिता कस्ती र इभाना थापा मगर छानिए । उनीहरु आठौं राष्ट्रिय खेलकुदअन्तर्गत हुने प्रदेश ३ को छनोट प्रतिस्पर्धाका लागि छानिएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...