पुरुष एकलतर्फ आयोजकका नवीन च्याम्पियन

अन्तर एयरलायन्स टेबलटेनिसको पुरुष सिंगल्समा प्रतिद्वन्द्वी कमल श्रेष्ठ विरुद्ध प्रतिस्पर्धा गर्दै नवीनबहादुर शाक्य ।

काठमाडौं (खेलदैनिक) । आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा च्याम्पियन बनेका छन् ।

मंगलबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा सहजै पराजित गरे । निगमको ५० औं वार्षिकोत्सवदेखि अन्तर एयरलाइयन्स टेबलटेनिस प्रतियोगिताको सुरुआत भएको थियो ।

त्यसएता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन् । निगमका सुरेशविक्रम हमाल तेश्रो भए ।निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसंग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए ।

निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेश्रो बने ।यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला सिंगल्स स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोश्रो र निमा डोमा शेर्पा तेश्रो भएका थिए ।

शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।विजेतालाई निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा हुने समारोहमा पुरस्कृत गरिने छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

चारदिने प्रतियोगितामा ४० पुरुष र ४ महिला प्रतिस्पर्धीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच निगमकै वार्षिकोत्सवका अवसरमा आयोजित आन्तरिक स्नुकर प्रतियोगितामा नवीनबहादुर शाक्य र अमर डंगोल फाइनलमा प्रवेश गरेका छन् । नवीनले क्याप्टेन प्रदीप राजभण्डारीलाई ३–२ तथा अमरले क्याप्टेन अर्विन्द पहाडीलाई ३–१ को फ्रेममा पाखा लगाए ।

फाइनल बुधबार हुनेछ । आन्तरिक प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन र टेबलटेनिस सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...