पौडी टोली कोरिया जाने

फिना वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । अठारौं फिना विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ ।

जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २–२ पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन् । गौरिका भेन लन्डनबाटै कोरिया जाने छिन् ।

टिम व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबार एक कार्यक्रमबीच सातदोबटोमा बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...