अमिरले स्वर्ण जिते

अमिर ब्लोनले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको जुनियर यु–१९ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

सातदोबाटोमा भएको फाइनलमा अमिरले दीपक थापालाई ११–९, ८–११, १२–१० र १७–१५ को सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा साविक उप विजेता अमृत थापा मगर र साविक विजेता अरहान्तकेशर सिंह फेरि उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा अमृतले प्रवीणवीरसिंह कंशाकारलाई १३–१५, १०–१२, ११–५, ११–४ र ११–८ तथा अरहान्तले ज्ञानु चौधरीलाई ११–७, ११–५ र ११–३ ले हराउदै उपाधि भेट पक्का गरेका हुन् ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा इन्द्रबहादुर कार्कीले प्रेम सिंहलाई १२–१०, ७–११, १०–१२, ११–७ र ११–४ ले पाखा लगाउदै फाइनलमा पुगे । उपाधिका लागि इन्द्रले किशोर महर्जन विरुद्ध खेल्नेछन् । किशोरले लालबहादुर गुरुङबाट वाक ओभर पाए ।

मास्टर्स ४५ देखि ५४ वर्षसम्मको पुरुष सिंगल्समा प्रज्ज्वलप्रकाश प्रधानले दिलिपनरसिंह अधिकारीलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पन्छ्याउदै सुदीपबहादुर सिंहसंग फाइनल भेट पक्का गरे । पुरुष सिंगल्सको प्लेटतर्फ रत्नकाजी शाक्य र आकाश सुनुवार फाइनलमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...