सडन डेथ मार्फत काँकरभिट्टा फाइनलमा

रमेश समदर्शी बिर्तामोड, जेठ १९ । डोमालाल रङ्गशालामा जारी प्रथम बिर्तामोड भेट्रान इन्डो–नेपाल फुटबल टुर्नामेन्टको शुक्रबारको खेलबाट काँकरभिट्टा भेट्रान एफसी फइनलमा प्रवेश गरेको छ ।विपक्षी मोरङको राजघाट भेट्रान एफसीसँग निर्धारित खेलमा २–२ गोलको बराबरी खेलेपछि काँकरभिट्टा भेट्रान सडन डेथबाट ६–५ गोलले विजयी हुँदै फाइनल प्रवेश गरेको हो । खेलको १७औँ मिनेटमा राजघाटका ताराबहादुर तुम्बाहाम्फेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, २२औँ मिनेटमा काँकरभिट्टाका लागि विष्णु सुनुवारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याए । पहिलो हाफको इन्जुरी समयमा राजघाटका प्रकाश लिम्बूले गोल गर्दै २–१ को नतिजा निकालेका थिए । काँकरभिट्टाका सुन्दर बस्नेतले खेलको ७०औँ मिनेटमा गोल गरेर २–२ गोलको नतिजा निस्केपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथबाट ६–५ गोलअन्तरमा काँकरभिट्टा विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच काँकरभिट्टाका रमेश बस्नेत घोषित भए ।

काँकरभिट्टाले शनिबार हुने अन्तिम सेमिफाइनल खेल सीभीसी भेट्रान चन्द्रगढी र पूर्वाञ्चल भेट्रानबीचको विजेतासँग सोमबार फाइनल खेल्ने आयोजक बिर्तामोड भेट्रानका कोषाध्यक्ष प्रकाश लिङ्देनले बताए । प्रतियोतिाको विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेता टिमले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...