नेपाल फिलिपिन्ससँग ४–१ गोलले पराजित, विक्रमलाई रातो कार्ड

काठमाडौं, चैत १५ – एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । पछिल्लो समय निकै राम्रो प्रदर्शन गरिरहेको नेपाली टोली १३ मिनेटदेखि नै १० खेलाडीमा सीमित रहनु नै हारको कारण बन्यो । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ ।

मंगलबार मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा १३ औँ मिनेटमा डिबक्स भित्र बिक्रम लामाको ह्याण्ड बल भएपछि फिलिपिन्सले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण चेमजोङले जोगाएका थिए । फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए । २१ औँ मिनेटमा फिलिपिन्सले अग्रता बनाएको थियो । रबिन श्रेष्ठले डिबक्स भित्र फल गरेपछि फिलिपिन्सले पाएको पेनाल्टी सदुपयोग गरेको हो ।

पहिलो गोलको लगत्तै २३ औँ मिनेटमा अर्को फिलिपिन्सले अर्को गोल गरेको थियो । २८ औँ मिनेटमा फिलिपिन्सले तेस्रो गोल गर्यो । अञ्जन बिष्टको स्थानमा २९ औँ मिनेटमा मैदान प्रवेश गरेका विशाल राईले पहिलो हाफको अन्तिममा एक गोल गरे । खेलको ७२ औँ मिनेटमा फिलिपिन्सले चौथो गोल गर्यो । पहिलो हाफमा धरमराएका नेपाली खेलाडीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका थिए ।

एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो । नेपाली टोलीका कप्तान विराज महर्जन मंगलबारको खेलमा थिएनन् । उनको ठाउँमा कमल श्रेष्ठलाई राखिएको थियो । फिफा वरियतामा नेपालभन्दा फिलिपिन्स ४६ औं स्थान माथि रहेको टोली हो । नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...