ह्विलचेयरबाट जीवन बदल्दै

4dd9277b1e515b21b2ec8bb814013468_Lसविन थापा ह्विलचेयर बास्केटबलमा संघर्ष गरिरहेका खेलाडी हुन्।चार वर्षअघि भएको मोटरसाइकल दुर्घटनापछि सविनको ढाडको तल्लो भाग नचल्ने भयो। कक्षा १२ मा पढ्दै गर्दा भएको दुर्घटनाले उनको जीवनको लक्ष्य नै मोडिदियो। दुर्घटनापछिमानसिक तनावले सविन विक्षिप्त भए। झन्डै आत्महत्याको बाटो रोज्ने अवस्थासम्म पुगे उनी।

तर अहिले उनले नयाँ जीवन सुरुआत गरेका छन्। स्पाइनल कर्ड इन्जुरी रिह्याबिटेसन सेन्टरको सहयोगमा उनको जीवनमा बदलिएको छ। थान्का आर्ट सिक्दै उनले जीवनलाई बदल्ने प्रयास गर्दैछन्। थान्का आर्टपछि उनको नयाँ गन्तव्य बनेको छबास्केटबल। २६ वर्षे सविन भन्छन्, ‘दुर्घटनापछि जीवनमा केही गर्न सक्दिनँ जस्तो लाग्थ्यो। एकसमय आत्महत्या गर्ने सोचसमेत आयो। अरुको बोझ भएर बाँच्नुभन्दा आत्महत्या नै गर्न सही हो कि जस्तो लाग्थ्यो। तर विस्तारै मैले आफ्नो क्षमताबुझेँ। जीवनमा हिँड्नु मात्रै सबथोक होइन। ह्विलचेयरमा बसेर धेरै गर्न सक्छु जस्तो लगेर अगाडिबढेँ।’

अहिले आफूजस्तै अपाङका लागि काम गर्ने आत्मविश्वास पलाएको उनी बताउँछन्। अहिले सविनको प्रत्येक शनिबारको दैनिकी बास्केटबलमा बित्ने गर्छ।

विगतबिर्संदै नयाँ सोचसाथ अगाडि बढिरहेका सविन जस्तै२२ खेलाडीले बुधबार ठमेलमा मैत्रीपूर्ण बास्केटबल खेले। इन्गेज नामक संस्थाले गरेको ‘कोचिङ फर फन’ कार्यक्रममा जावलाखेल, पिके र बिआइए टिमले एकापसमा मैत्रीपूर्ण बास्केटबल खेलेका थिए। दुई घन्टासम्म चलेको कार्यक्रममा विभिन्न कारणले अपाङ व्यक्तिले आफनो बास्केटबल खेल्ने कौशल देखाएका थिए।

मैत्रीपूर्ण बास्केटबल आयोजक इन्गेजकी अध्यक्ष कल्पना गुरुङले अपाङ व्यक्तिको आत्मविश्वासबढाउन कार्यक्रम गरिएको बताइन्। उनले भनिन्, ‘दुर्घटनापछि धेरै व्यक्ति घरबाट बाहिर निस्कनसमेत डराउँछन्। उनीहरूले जीवनमा फेरि केही नयाँ काम गर्न सक्छन्। मात्र हौसला र प्रेरणाको खाँचो छ।’

भूकम्पका कारण अपाङ हुन पुगेका व्यक्ति लक्षित गरेर ह्विलचेयर बास्केटबललाई निरन्तरता दिने गुरुङको अबको योजना छ।उनी भन्छिन्, ‘भूकम्पले धेरैलाई अपाङ बनाएको छ। उनीहरूका लागि पनि यस्तै कार्यक्रम गर्ने योजना छ।’

इन्गेजले एक वर्षयता पद्यकन्या क्याम्पस र जोरपाटीमा अपाङका लागि बास्केटबल कार्यक्रम गर्दै आएकोउनले बताइन्। ‘हामीले स्वयंसेवक प्रशिक्षकमार्फत बास्केटबलका साथै अन्य उत्प्रेरणा जगाउने कार्यक्रम गर्दै आएका छौं। बास्केटबल कार्यक्रमले खेलाडीमा सकारात्मक परिवर्तन आएको छ। अब हामी ह्विलचेयर लिग बास्केटबल गर्ने तयारीमा छौं।’ नेपालमा विभिन्न अवसरमा ह्विलचेयर बास्केटबल गरिने भएपनि नियमित भने हुने गरेको छैन।

१० स्वयंसेवक प्रशिक्षकमार्फत इन्गेजले अपाङका लागि बास्केटबल कार्यक्रमसुरुआत गरेको हो। अहिले कुशल लामिछाने, विनित श्रेष्ठ र धीरज विष्टले प्रशिक्षण गराउँछन्।

कोचिङ फर फन बास्केटबलले अपाङ व्यक्तिलाई पुनः सामाजिक वातावरणमा फर्काउने सहयोग गरेको प्रशिक्षक कुशल बताउँछन्। जोरपाटीमा प्रशिक्षण गराउने जिम्मेवारी पाएका कुशल भन्छन्, ‘ह्विलचेयर बास्केटबलले उनीहरूको दैनिकीमा नै परिवर्तन आएको छ। उनीहरूको फिटनेस राम्रो भएको छ।महत्वपूर्ण कुरा उनीहरूलाई आफ्नो क्षमताथाहा पाएका छन्।’

उनले थपे, ‘धेरै जना विगतमा बास्केटबल खेल्न नजान्ने थिए। हामीले बास्केटबलका सामान्य नियम सिकाउने गर्छाैं। अहिले उनीहरू बास्केटबल खेल्न एकदमै उत्साही हुन्छन्। अब उनीहरुले अन्तर्राष्ट्रिय पारा बास्केटबल खेल्ने लक्ष्य बनाउन थालेका छन्। हरेक साताको प्रशिक्षणले उनीहरूलाई थप सहयोग गरिरहेको छ।’

कार्यक्रम संयोजक कुसुम थोकरले बुधबारउद्घाटित कोचिङ फर फन कार्यक्रमका लागि चार मलेसियन चार संस्थाले १० हजार रिंगेट सहयोग गरेको बताइन्।

नेत्रहीन क्रिकेट संघका अनुसार वैशाख १२ र २९ को भूकम्पका कारण नेपालमा ५ हजार अपाङ भएका छन्। ४ सय जनामा स्पाइनल कर्ड इन्जुरी देखिएको छ। कोचिङ फर फन बास्केटबलले अपाङ व्यक्तिको जीवनलाई सकारात्मक भएर अगाडि बढाउन सहयोग गर्नेसंघका संस्थापक अध्यक्ष पवन घिमिरेले बताए। घिमिरेले भने, ‘अपाङ व्यक्तिको मुख्य समस्या तनाव हो। उनीहरूलाई तनावबाट मुक्त राख्दै पुनः सामाजिक वातावरण फर्काउन ह्विलचेयर बास्केटबल महत्वपूर्ण बन्न सक्छ। त्यसका लागि अपाङ व्यक्तिको शारीरिक रूपमा स्वस्थ राख्दै बौद्धिक विकासमा जोड दिनुपर्छ।’

कमल खत्री (Nagarik)


प्रतिक्रिया दिनुहोस

Loading...