सागको महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता, फाइनलमा पुग्यो महिला टोली

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ नेपाल पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । यो सफलतासँगै १३औं सागमा नेपालको पहिलो पदक भलिबलबाट हात पर्ने पनि पक्का भएको छ ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । खेलमा नेपालले पहिलो सेट २५–१४ ले जित्यो भने दोस्रो सेट २५–१७ ले आफ्नो पोल्टामा पार्यो । त्यस्तै अन्तिम सेट २५–२१ ले जित्दै नेपालले फाइनल स्थान सुरक्षित गर्यो ।

नेपालले स्वर्णका लागि फाइनलमा दावेदार भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको थियो ।

स्मरणीय छ, समूह चरणतर्फ नेपाल र भारत एउटै समूहमा थिए । समूहगत खेलमा नेपालले भारतसँग ३–० को हार बेहोरेको थियो । फाइनलमा नेपालले भारतसँग हारको बदला लिने अवसर पनि हुनेछ ।

ऐतिहासिक सफलताका साथ फाइनल पुगेको नेपालको पहिलो पदक पक्का भएको छ । यसअघि नेपालले महिला भलिबलतर्फ सन् १९९९, २००६ र २०१६ को सागमा मा तीन पटक काँश्य पदक जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...