भेनस कप टेटेमा शिव र नविता च्याम्पियन

indexभेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका शिवसुन्दर गोथे र नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ मंगलबार च्याम्पियन बनेका छन् । शिव पुरुष र नविता महिला सिंगल्समा विजेता बने ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा शिवले प्रहरीका दीप साउनलाई १४–१२, ७–११, ११–९, १२–१० र ११–७ को सेटमा पराजित गरे । त्यसअघि मंगलबारै भएको सेमिफाइनलमा शिवले एपीएफका पुरुषोत्तम वज्राचार्यलाई ४–० तथा दीपले एपीएफकै चन्दन शाहीलाई ४–१ ले हराएका थिए । सेमिफाइनलमा पराजितद्वय पुरुषोत्तम र चन्दनले तेश्रो स्थानमा चित्त बुझाए ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघ र रोटरी क्लब अफ नार्गाजुनद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई १२–१०, ११–८, ११–७ र ११–८ को  सोझो सेटमा हराइन् । सेमिफाइनलमा नविताले अर्की आफ्नै नन्द एरिकालाई तथा एलिनाले नेपाल आर्मी क्लबकी रविना महर्जनलाई समान ४–० को नतिजामा पाखा लगाउदै फाइनल यात्रा तय गरेका थिए । हारसंगै एरिका र रविना तेश्रोमा सीमित भए ।

पुरुष÷महिला सिंगल्समा पहिलो हुने २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रो हुनेद्वयले समान ५–५ हजारका दरले नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र पाए ।

जुनियर ब्वाइज सिंगल्सको उपाधि प्राइमका श्यान्टु श्रेष्ठले जिते । फाइनलमा उनले आर्मीका नारायण घिमिरेको चुनौती ११–४, ११–५ र ११–६ को सीधा सेटमा समाप्त पारे । सुनसरीका सुबोध लिम्बू र प्राइमका विपिन महर्जन तेश्रो बने । उक्त स्पर्धाको गल्र्समा एभीएम क्लबकी लस्ता महर्जन पहिलो भएकी थिइन् ।

क्याडेट ब्वाइज सिंगल्समा एभीएमका रितिज जोशीले स्वर्ण चुमे । रितिजले फाइनलमा एभीएमकै सन्योग कपालीलाई ९–११, ११–८, १२–१०, ६–११ र ११–५ ले निराश पारे । स्वर्णिमका नाम्गेल लामा र एभीएमका डिकेन महर्जन तेश्रो भए । यो स्पर्धाको गल्र्समा सुनसरीकी दीक्षा दाहालले स्वर्ण जितिन् ।

विजेतालाई नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ यङ जिन, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र महासचिव कुवेर सिंह, आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य, आयोजक रोटरी क्लबका अध्यक्ष शम्भु आम्गाईं, आरआई डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर केशव कुँवरलगायतले पुरस्कार वितरण गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न ८ जिल्ला र तीन विभागीय टोलीका २ सय ५० खेलाडीले ६ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...