सताक्षी गोल्डकपमा २१ लाख बचत

4 (1)झापाको झिलझिलेमा सम्पन्न प्रथम सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आयोजकले २१ लाख रुपैयाँ बचत गरेको छ ।

वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालित प्रतियोगिताको हिसाब सार्वजनिक गर्दै आर्थिक संयोजक गणेश प्रधानले २१ लाख ४२ हजार २१७ रुपैयाँ बचत गरेको जानकारी दिए । उनका अनुसार ५५ लाख ६९ हजार ५६० रुपैयाँको कारोबार गर्दा ३४ लाख २७ हजार ३४३ रुपैयाँ प्रतियोगितामा खर्च भएको थियो ।

स्थानीय सहयोगबाट आयोजना गरिएका प्रतियोगितामा टिकट बिक्रीबाट १० लाख ४३ हजार ९३० रुपैयाँ सङ्कलन भएको उनले बताए । त्यस्तै, विदेशमा रहेका झापालीले ६ लाख रुपैयाँको हाराहारीमा फुटबल सम्पन्न गर्न सहयोग गरेको उनको भनाइ थियो ।

‘बचाउन सकिएको रकम निश्चित बचत गरेर खर्च गर्छौं’, उनले भने, ‘केही रकम स्थानीय खेलाडी उत्पादनका लागि एकाडेमी सञ्चालनमा खर्च हुनेछ ।’ उनका अनुसार केही रकम धार्मिक पर्यटनको विकासका निम्ति सताक्षीधाम मन्दिरमा खर्च गरिनेछ ।

अर्को वर्ष पनि गोल्डकपले निरन्तरता पाउने बताएको आयोजक क्लब सतासीधाम स्पोर्टिङ क्लबका सदस्य तथा प्रचार प्रमुख योगेन लावतीले शून्य पुँजीबाट सुरु भएको खेल भव्यरुपमा सम्पन्न भएको प्रतिक्रिया दिए । उनले भने, ‘साहस र मेहनतले प्रतियोगिता सम्पन्न भयो ।’

क्लबका अध्यक्ष रमेश लावतीले सहयोगी सबैलाई धन्यवाद दिँदै दिमागमा समझदारी, छातीमा इमान्दारी र काँधमा जिम्मेवारी बोकेका फुटबलप्रेमीको साथले गोल्डकप सफल भएको दाबी गरे । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर अधिकृत हरि गुरागाईं र फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ले शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...