झापा गोल्डकप २५ लाख नाफामा

DSC_0019झापाको बिर्तामोडमा आयोजित रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करण नाफामा गएको छ । गत चैत १८ देखि २७ गतेसम्म सञ्चालित उक्त प्रतियोगिताबाट करिब २५ लाख रुपैयाँ नाफा भएको छ ।

झापा जिल्ला फुटबल संघ र रमपम झापा ११ को संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता मोफसलकै सर्वाधिक राशि ६ लाख रुपैयाँ भएको फुटबल प्रतियोगिता हो । प्रतियोगिता आयोजक समितिले सोमबार हिसाब सार्वजनिक गर्दै २४ लाख ७३ हजार ९०७ रुपैयाँ बचत देखायो ।

खेल अवधिभर ८२ लाख १७ हजार ७०७ रुपैयाँ आम्दानी गरेको गोल्डकपमा ५७ लाख ४३ हजार ८०० रुपैयाँ खर्च भएको आयोजक समितिका अध्यक्ष होम पाण्डेले जानकारी दिए । ‘करिब ७ लाख रुपैयाँ दाताबाट आउन बाँकी छ’, उनले भने, ‘एक लाख ९० हजार हामीले तिर्नु पर्नेछ तर हिसाब मिलान गरेका छौँ ।’

प्रतियोगितामा टिकट बिक्रीबाट मात्रै ३९ लाख ५० हजार ३२८ रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । सबैभन्दा न्यूनतम १ लाख ४३ हजार र सर्वाधिक फाइनल खेलका दिन १४ लाख ६५ हजार ३१० रुपैयाँको टिकट बिक्री भएको थियो ।

खेलप्रेमीको हौसला र सहयोगबाट प्रतियोगिता गर्न थप प्रेरणा मिलेको अध्यक्ष पाण्डेको भनाइ छ । उनले झापा गोल्डकपलाई निरन्तरता दिने बताए । ‘गोल्डकपबाट बचत रकम झापा ११ को स्तरोन्नति झापाली फुटबलको विकासमा खर्च गरिनेछ’, उनले भने ।

प्रतियोगिता सम्पन्न गर्न खेलप्रेमीको स्वघोषित सहयोग १२ लाख ४६ हजार, प्रायोजक दाताबाट २७ लाख ५८ हजार ३७९, सिजनल टिकटबाट १ लाख ७३ हजार र साना व्यानरबाट ९० हजार रुपैयाँ सङ्कलन भएको आयोजकका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी खेलाडी टिम खर्चमा २७ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ ।

पहिलो पुरस्कारको राशि चारपानेको सहारा साकोसले ६ लाख र दोस्रो पुरस्कार कतारमा रहेका बिर्तामोडका खेलप्रेमी राजन श्रेष्ठले तीन लाख रुपैयाँ प्रायोजन गरेका थिए । ‘समग्रमा झापा गोल्डकप भव्यरुपले सम्पन्न भयो’, अध्यक्ष पाण्डेले भने ।

तीन साताको तयारीमा सम्पन्न गोल्डकप आयोजक समितिका पदाधिकारी सबै व्यवसायी हुन् । ‘उनीहरुलाई खेलप्रेमीले साथ सहयोग दिएर सम्पन्न भएको हो’, झापा ११ का अध्यक्ष जलकुमार गुरुङले भने, ‘फुटबल नबुझेका व्यक्तिलाई लिएर अघि बढ्दा हामी सफल भयौँ ।’

कार्यक्रममा आयोजकका मिनप्रकाश मैनाली, बलराम कार्की लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए । उनीहरुले भएका गल्ती, कमजोरी सच्याउँदै गोल्डकपलाई उदाहरणीय र नमुना प्रतियोगिताको रुपमा स्थापित गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...