सिमोनलाई अन्तर्राष्ट्रिय कांस्य पदक

4जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले कांस्य पदक जितेका छन् । अप्रिल ३० तारिखमा भएको प्रतियोगिताको खुला तौलसमूहमा सिमोनले कांस्य जितेका थिए । उक्त प्रतियोगितामा सबै भन्दा टाडाको देशबाट सहभागी हुने सिमोन एक्लो खेलाडी हुन् ।

सिमोन फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाइ फिलिपिन्सबाटै अर्को प्रतियोगितामा सहभागी हुन जर्मनी गएका थिए । अप्रिल २३ देखि २४ तारिखसम्म फिलिपिन्समा भएको प्रतियोगिताको खुला तौलसमूहमा भने सिमोनले रजत हात पारेका थिए ।

सिमोन २०११ मा भारतमा भएको चौथो दक्षिण एसियाली वादोरियो कराते प्रतियोगिताका स्वर्ण विजेता हुन् । २०१३ मा भारतमै भएको पाँचौं संस्करणमा पनि सिमोनले पहिलो स्थान हात पारेका थिए । त्यस्तै २०१४ मा श्रीलंकामा भएको अन्तर्राष्ट्रिय वादोरियो कराते तथा २०१२ मा मलेसियामा भएको १० औं अन्तर्राष्ट्रिय खुला करातेमा पनि स्वर्ण हात पारेका थिए ।

काठमाडौं जिल्ला वादोरियो कराते संघ, नेपाल वादोरियो कराते डो संघ, ब्ल्याक वेल्ट कमिटी तथा कान्तिपुर यातायात व्यवसायी संघले एक कार्यक्रमबीच सिमोनलाई मंगलबार स्वागत गरे ।

नेपाल कराते महासंघ महासचिव एवं वादोरियो प्रमुख प्रशिक्षक हरिशरण केसी, प्रशिक्षक, खेलाडीलगायतले सिमोनलाई स्वागत गरे । सिमोन सोमबार राती स्वदेश फकिएका हुन् ।

कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ र वादोरियो प्रशिक्षक सूर्य राईलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...