चौथो रमपम उदयपुर गोल्डकपको तयारी पूरा, भोलि उद्घाटन खेल संकटा र धरानबीच

(खेलदैनिक, माघ २६) विहीबारदेखि सुरु हुन गईरहेको उदयपुर गोल्डकपको चौथो संस्करणको तयारी पूरा भएको छ । खेलकुदस्थल थरुहट उदयपुर रंगशालामा खेल हुनेछ ।

उद्घाटन खेलमा सिएमसी संकटा क्लव काठमाडौं र धरान फुटबल क्लव सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन २८ गते हार्भेस्टमुन हिमालयन शेर्पा क्लवसँग आयोजक उदयपुर ११ ले भिडन्त गर्नेछ । त्यस्तै एपिएफ काठमाडौंसँग मोरङ ११ ले २९ गते प्रतिस्पर्धा गर्नेछ भने फागुन १ गतेका दिन रमपम झापा एफसी र रुपन्देही ११ रुपन्देहीबीचको भिडन्त हुने छ । २ र ३ गते सेमिफाईल खेलाइने प्रतियोगिताको ४ गते विश्राम गरी ५ गते फाईनल खेल हुने खेल तालिका सार्वजनिक गरिएको छ ।

‘स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता र सद्भावका लागि उदयपुरको शान, उदयपुरको पहिचान रमपम उदयपुर गोल्डकप’ भन्ने नाराका साथ आयोजना हुन लागेको ‘चौथो रमपम उदयपुर गोल्डकप ०७३’ प्रतियोगितामा ए डिभिजनसहित ८ वटा खेल समूहले भाग लिने जानकारी दिइयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं, सिएमजी संकटा क्लव काठमाडौं, हार्भेष्टमुन हिमालयन शेर्पा क्लव काठमाडाँैंको सहभागिता रहने छ । त्यस्तै रामपम झापा फुटबल क्लव, धरान फुटबल क्लव सुनसरी, मोरङ ११ र रुपन्देही ११ का साथ आयोजक उदयपुर ११ ले पनि प्रतिस्पर्धा गर्नेछन् ।

विजेतालाई २ लाख नगद र लोकबहादुर स्मृति गोल्डकप ट्रफि प्रदान गरिने प्रतियोगिताका उपविजेतालाई नगद १ लाख र हंसराज दाहाल स्मृति सिल्भरकप ट्रफि प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष किरण राईले बताए । फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रवेशका लागि टिकट दर २५ रुपैंया राखिएको छ भने फाईनलका दिन ५० रुपैंया तय भएको आयोजक महासचिव आनन्ददेव चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...