सार्वजनिक लेखा समितिले अख्तियारलाई पुनः पत्र पठायो, ‘गणेश थापा भ्रष्टाचारबारे के भयो ?’

खेलदैनिक, २६ माघ / एन्फामा भएको भ्रष्टाचारको विषयमा के भयो ? भन्दै सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ । लेखा समिति सदस्य रामहरि खतिवडाले खेलदैनिकलाई बताए अनुसार बुधबार नै समितिले आयोगमा पत्र पठाएको हो ।

यो विषयलाई विशेष महत्व दिएर सार्वजनिक लेखा समितिको पूर्ण समितिले अध्ययन गरेको साढे दुई वर्ष नै कट्यो । एन्फाको भ्रष्टाचार उजुरीको छानबिन गर्न माग गरे लगत्तै समितिले काम अघि बढाउँदै थापाले ५८ करोड भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

समितिले एन्फाबारे थप अध्ययन गर्न उजुरीकर्ता, एन्फा, राष्ट्रिय खेलकुद परिषद्बाट थप कागजात मगाएर प्रक्रिया अघि बढाउनुका साथै थापाबाट स्पष्टिकरण लिएको २०७१ भदौ दोस्रो साता नै हो ।

अख्तियार तत्कालिन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा रिट परेपछि नै यो विषय अघि बढ्न नसकेको बताईन्छ । फिफाले पनि थापाले गलत गरेको ठहर गर्दै २१ लाख नेपाली रुपैंया जरिवानाका साथै १० वर्षसम्म खेलकुद क्षेत्रबाट निलम्बन गरिसकेको छ ।

सदस्य खतिवडाले अबको १० दिनपछि पुनः यस सम्बन्धमा जानकारी माग्ने बताए । थापाले भने आफूले गलत नगरेको जिकिर गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...