झापा ११ र मनाङ फाइनलमा भिड्दै

(बिर्तामोड) मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब मैदान उत्रिदैछन् ।

घरेलु टोली झापा ११ ले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–०  गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो । यी दुबै टोलीले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरिसकेका छन् । र, उपाधि उचाल्ने लक्ष्यका साथ सोमबार भिड्न लागेका हुन् ।

डिफेन्डिङ च्याम्पियन आर्मी यसपटक सेमिफाइनलबाटै घर फर्किएपछि आफ्नो टिमलाई केही सहज महसुस भएको झापा ११ का कप्तान प्रवेश कटुवालले बताए ।

“फाइनलमा मनाङसँगै भेट होस् भन्ने हामी पनि चाहन्थ्यौँ,”आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रवेशले भने, “आर्मी शारीरिक रुपमा बलियो टोली थियो । मनाङ र हामी (झापा ११) टेक्निकल्ली बलियो छौँ ।”

गत वर्षको झापा गोल्डकपमा घरेलु टोली झापा–११ आर्मीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।

“गत वर्षको हारको पीडा भुलाउन यसपटक जीतको विकल्प छैन,” प्रवेशले भने । झापा ११ फाइनलमा ४–३–३ को पोजिसनमा मैदान उत्रिने उनले जानकारी दिए । टिमवर्क नै झापा ११ का लागि जित्ने आधार भएको बताएका उनले सबै खेलाडी फाइनल भिड्न तयार रहेको प्रतिक्रिया दिए ।

मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टिम यो सिजनमा सशक्त रहेको दाबी गरे । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो ।

यसपटक सेमिफाइनलमै आर्मीलाई हराउँदै मनाङले बदला लियो । आर्मीलाई पाखा लगाएपछि उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको प्रशिक्षक गुरुङ बताउँछन् । उद्दपि, उनले फाइनल खेलका लागि टिमको रणनीति भने सुनाउन चाहेनन् ।

“हाम्रो रणनीतिसँगै केही खेलाडी पनि फेरिन सक्छन्,” उनले भने ।

टोली मजबुत रहेसँगै टिमवर्क पनि राम्रो हुनु नै उपाधि उचाल्ने आधार भएको उनको भनाई छ । प्रशिक्षक गुरुङले विक्रम लामा र रोहित चन्द आएपछि मनाङ झनै बलियो भएको बताए ।

अघिल्लो सिजनमा झापा र मनाङ २ पटक आमने–सामने भएका थिए । दुईवटै भिडन्तमा मनाङले बाजी मारेकाले मनोबल उच्च रहेको गुरुङ बताउँछन् । उनले झापा ११ को मिडफिल्डको भने तारिफ गरे ।

यसअघि झापा र मनाङको भेट ६ पटक भइसकेको छ । जसमा मनाङले ४ खेल जित्दा झापाले २ वटा मात्र जीत निकाल्न सकेको थियो । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...