एएफसी कप छनौट खेल्न नपाएपछि थ्री स्टारले मागेको ६ करोड क्षतिपूर्ती एन्फाद्वारा अस्विकार

खेल दैनिक, माघ २३ / अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीको लापरवाहीका कारण एएफसी कप छनौट खेल्न नपाएको भन्दै दुई महिना अघि थ्रीस्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकोमा एन्फाले त्यति रकम दिन नसक्ने प्रष्ट पारेको छ ।

एन्फाका सिईओ ईन्द्रमान तुलाधरले उनीहरुको माग बमोजिम ६ करोड दिन नसक्ने प्रष्ट पारे । उनले बैठकमा खुलस्त रुपमा यति रकम दिन नसक्ने जनाईसकेको र यस सम्बन्धमा पुनर्विचार गर्ने क्लबले पनि जनाईसकेको जानकारी दिए ।

क्षतिपूर्ति दिने विषयमा निर्णय भएको तर कति दिने भन्ने विषयको निक्र्यौल हुन बाँकी रहेको उनले जनाए ।

गत अगस्टमा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लब मंगोलियामा भएको एएफसी कप प्लेअफ क्वालिफायर्सको विजेता बन्दै एएफसी कप प्लेअफमा छनोट भएको थियो तर एन्फाले समयमै एएफसीको पत्रको उत्तर नदिएपछि थ्रीस्टारले मौका गुमाएको थियो ।

क्लबका महासचिव सञ्जीव शिल्पकारले थ्रीस्टारको हालसम्मको खर्च, लगानी, ब्रान्ड, इमेज, प्लेअफको तयारी खर्च, प्ले अफ जितेमा पाउने रकमको क्षतिपूर्तिसहित ६ करोड क्षतिपूर्ति माग गरेका थिए ।

थ्रीस्टारले आफ्नो मागको सुनुवाई नभए कुनैपनि फुटबल गतिविधिमा सहभागी नहुने समेत घोषणा गरेको छ । र अहिले विभिन्न ठाउँमा भईरहेको प्रतियोगितामा समेत थ्रीस्टार सहभागी छैन ।

एएफसी कप प्लेअफमा दक्षिण एसियाली क्षेत्रबाट भारत, माल्दिभ्स र बंगलादेश, भुटान र श्रीलंकाको क्लबको स्थान छ। यतिसम्म मंगोलियाको क्लबलाई समेत प्लेअफमा एक स्थान छुट्याएको छ, जबकी थ्री स्टारले एएफसी कप प्लेअफ क्वालिफायर्समा मंगोलियाकै क्लबलाई हराएको थियो।

यस्तो छ एएफसीले एन्फालाई पठाएको पत्र


प्रतिक्रिया दिनुहोस

Loading...