घनश्याम र सिक्कालाई स्वर्ण

हिसान खेलकुद सप्ताहअन्र्तगत टेबलटेनिसको सिंगल्सको पुरुषमा साइपाल एकेडेमीका घनश्याम शर्मा र महिलामा लिभरपुलकी सिक्का सुवालले शनिबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा घनश्यामले लिभरपुलका रितिज जोशीलाई ४–११, १३–११, ११–८ र ११–८ को सेटमा पराजित गरे । अर्को फाइनलमा सिक्काले केएमसीकी आश्का श्रेष्ठलाई ११–४, ११–७ र ११–३ को सोझो सेटमा हराइन् ।

महिला डबल्समा लिभरपुलका सिक्का सुवाल र सुगम अर्यालको जोडीले टाइम्सका साइरा शेख र आकृति चौलागाईंको जोडीलाई फाइनलमा ३–० ले पाखा लगाउदै पहिलो भए । सोही स्पर्धाको पुरुषमा लिभरपुलका रितिज जोशी र एलेक्स महर्जनको जोडीले फाइनलमा एभीएमका विपुल महर्जन र राजु श्रेष्ठको जोडीलाई ३–० ले निराश पार्दै स्वर्ण जिते ।

त्यस्तै शनिवारनै भएको ब्याडमिन्टन खेलको मेन्स सिङ्गल तर्फको उपाधि सि.सि.आर.सिका राजकुमार नगर्जि तथा मेन्स डवल तर्फको उपाधि ओमेगा कलेजका रोहित महर्जन र सरिष बज्राचार्यले जितेका छन् । त्यस्तै गल्र्स सिङ्गल तर्फको उपाधि ट्रिनिटीकी शिभा चन्द तथा गल्र्स डवल तर्फको उपाधि प्रिमियर कलेजका रिया झा र प्रकृति भट्टराईले जितेका छन् ।

यसै गरि शनिवार भएको बास्केटवलमा रोजवर्डले हेराल्डलाई ७१— ३२, जेभियर कलेजले नासालाई ७३—२८, ह्वाईट हाउसले पेन्टागनलाई ४५—२८ को सेटमा हराएका छन् । त्यस्तै गल्र्स तर्फको खेलमा नाशाले जेभियर ई कलेजलाई २८—१५ को सेटमा हाराएको छ भने अर्को खेलमा हेराल्डले सफलता पाएको छ । खेलकुद सप्ताह अन्र्तगत आईतवार कविता र बक्तित्वकला प्रतियोगिता हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...