माघ २२ / रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता नवलपरासीको अभिषेक चर्चले जितेको छ । शनिबार सम्पन्न फाइनलमा नवलपरासीले पोखराको बगर भाइखलकलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्यो ।
जावलाखेल युथ क्लबद्वाराजावलाखेल फुटबल मैदानमा आयोजित प्रतियोगिताको अन्तिम खेलमा निर्धारित ४० मिनेटमा दुवैबाट गोल हुन नसकेपछि टाइब्रकेरमा निर्णय गरिएको हो । नवपरासीले १ लाख र पोखराले ५० हजार पाए ।
नवलपरासीबाट यामबहादुर शाही र नर्कु तामाङको पहिलो दुई प्रहार गोलरक्षक रविनले बचाए । त्यसपछि चक्र पुन, रवीन्द्र श्रेष्ठ र दीपक कार्कीले गोल गरी नवलपरासीलाई विजयी बनाए । पोखराका गोलरक्षक रविन शाहीले पेनाल्टी सुटमा पहिलो दुई प्रहार रोके पनि त्यसपछि नवलपरासीले पुनरागमन गर्यो ।
पोखराबाट चार पेनाल्टीमा मनोज थापाको मात्र गोल भयो । पोखराका हिमाल थापा र विशाल गुरुङको प्रहार बाहिरियो । पूर्व राष्ट्रिय खेलाडी डिल्लीराम श्रेष्ठको प्रहार गोलरक्षक जितबहादुर तामाङले बचाए ।
पोखराका रविन उत्कृष्ट गोलरक्षक र हिमाल थापा उत्कृष्ट मिडफिल्डरमा चुनिए । नवलपरासीका चक्र पुन उत्कृष्ट स्ट्राइकर भए । सबै विधाका उत्कृष्टले जनही ५–५ हजार र बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट पाए । पोखराका धनकुमार गुरुङ उत्कृष्ट खेलाडी भए । उनले १५ हजार र माउन्टेन फ्लाइट टिकट पाए ।
विजेतालाई स्वास्थ्यमन्त्री गगन थापा, सांसद मदनबहादुर अमात्य, एन्फाका मानार्थ अध्यक्ष टासी घले र जावलाखेल क्लबका अध्यक्ष ठुलोभाइ केसी लगायतले पुरस्कृत गरे । जावलाखेल डिस्ट्रिलरीको आयोजनामा ४० वर्ष पुगेकाले खेल्न पाउने प्रतियोगितामा १४ टोली सहभागी थिए ।