झापा गोल्डकप फुटबल प्रतियोगिता: झापा–११ फाइनलमा, हिमालयन शेर्पा ४–० गोलले पराजित

माघ २१/  झापा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रमपम झापा–११ फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै घरेलु टोली झापा उपाधि नजिक पुगेको हो ।

झापाको जितमा कर्ण लिम्बुले २ तथा बुद्ध चेम्जोङ र खामिर गिल्सनले १/१ गोल गरे। फाइनल प्रवेशसँगै झापाले कम्तीमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गोलको खाता खोलेका थिए । कर्णले नै टोलीका लागि दोस्रो गोल गरेका थिए । झापाका लागि ८७ औं मिनेटमा बुद्ध चेम्जोङ र ९० औं मिनेटमा खमिर गिल्सन कन्दङ्वाले थप गोल गरेका थिए । आजका म्यान अफ द म्याच झापाका कर्ण लिम्बू घोषित भए ।

फाइनलसम्म पुग्ने क्रममा झापाले अहिलेसम्म गोल खाएको छैन। झापाले पहिलो खेलमा ५-० तथा क्वाटरफाइनलमा सुदूरपश्चिमाञ्चल एघारलाई ४-० ले पराजित गरेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि दोश्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लबबीच भिडन्त हुनेछ । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद सात लाख तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...