जावलाखेल कप भेट्रान फुटबल: पोखराको बगर भाइखलक, सानो गौचरन, हिमालयन शेर्पा र नवलपरासीको अभिषेक चर्च सेमिफाइनलमा

माघ २१ / रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगितामा पोखराको बगर भाइखलक, सानो गौचरन नाइट किङ, हिमालयन शेर्पा र नवलपरासीको अभिषेक चर्च सेमिफाइनल पुगेका छन् ।

जावलाखेल फुटबल मैदानमा भएको खेलमा बगर भाइखलकले आयोजक जावलाखेल युथलाई पेनाल्टी सुटआउटमा हरायो । फाइनलमा पुग्न  बगरले सानो गौचरनसँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित ४० मिनेट र ५ पेनाल्टीमा पनि नतिजा नआएपछि आठौं पेनाल्टीमा छिनोफानो हुँदा बगर टिम ६–५ ले विजयी भयो । विजेताका रविन शाही म्यान अफ द म्याचमा चुनिए ।

शशी रिमालको गोलमा सानो गौचरनले त्रिभुवन आर्मीलाई १–० ले पराजित गर्‍यो ।

हिमालयनले कैलालीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिँदा हिमालयनका आनन्द गुरुङ र म्यान अफ द म्याच सुविन शाक्य तथा कैलालीका सिद्धि व्यन्जनकार र सुरज लामाले गोल गरेका थिए ।

अन्तिम क्वार्टरफाइनलमा नवलपरासीले सामाखुसी फुटसललाई २–१ ले पराजित गर्‍यो । सामाखुसीबाट निमा लामा र नवलपरासीबाट म्यान अफ द म्याच चक्र पुनले गोल फर्काएका थिए ।

अर्को सेमिफाइनल हिमालयन शेर्पा र नवपरासीबीच हुनेछ । सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...