दोस्रो दृष्टिबिहिन टीट्वेन्टी बिश्व कप क्रिकेट: नेपालको पहिलो जित, दक्षिण अफ्रिका६ विकेटले पराजित

 

सुनिल राना मगरको अल राउन्ड प्रदर्शन तथा सुनिल सुबेदीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले दोस्रो दृष्टिबिहिन टीट्वेन्टी बिश्व कप क्रिकेटमा पहिलो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित ग¥यो ।

नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो खेलमा अष्टे«लियासँग १० विकेट तथा दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो ।

नेपालको यो दक्षिण अफ्रिकाविरुद्ध पनि पहिलो जित हो । सन् २०१२ मा भएको पहिलो टीट्वेन्टी बिश्व कपमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको थियो । टीट्वेन्टी बिश्व कपमा भने नेपालको यो दोस्रो जित हो । सन् ०१२ बिश्व कपको पहिलो खेलमा बंगलादेशलाई नौं विकेटले पराजित गर्न बाहेक नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पार्न सकेको थिएन । नेपालले त्यस यता बिश्व कपमा ११ खेल तथा समग्रमा १५ खेल खेलेको छ । बिश्व कप बाहेक नेपालले चार खेल एसिया कपमा खेलेको थियो ।

साकेट स्थित दिल्ली बिकास प्राधिकरण (डिडिए) को खेल मैदानमा टस जिती पहिले फिल्डिङ गरेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारीत २० ओभरमा पाँच विकेट लिदै एक सय ४६ रनको योगफलमा रोकेको थियो । प्रत्युत्तरमा नेपालले १७.३ ओभरमा चार विकेट गुमाउदै जित पक्का गरेको हो ।

नेपालको जितमा सुनिल राना मगरले ३५ बलमा ३८ रन जोडे भने बलिङतर्फ दुई विकेट लिए । उनी म्यान अफ दी म्याच समेत चुनिए । यस्तै सुनील सुबेदी क्षेत्रीले ३३ बलमा ४६ रनको महत्वपुर्ण योगदान दिए । उनले चौका प्रहार गर्दै नेपालको जित पक्का गरेका थिए । सुनिल राना बी टु (पाँच मिटर सम्म देख्न सक्ने) तथा सुनिल सुबेदी बी वान (पुरै आँखा नदेख्ने) क्याटेगोरीका खेलाडी हुन् ।

नेपालका लागि उनिहरु बाहेक सुरुवाती ब्याट्म्यान रमेश बहादुर बानिँयाले २८ बलमा २४ रनको योगदान दिए । रमेश र सुनिल राना दुबैले एकएक चौका प्रहार गरेका थिए । त्यसपछि लोक बहादुर थापाले नौं रन तथा सुनिल थापा मगरले पाँच रन जोड्दा कप्तान किर्तन श्रेष्ठ दुवाल शून्य रनमा अबिजित रहे । नेपालले २७ अतिरीक्त रन उपहार पाएको थियो ।

सुनिलले चार ओभरमा २६ रन दिएर दुई विकेट लिएका थिए । नेपालका लागि अर्काे एक विकेट कप्तान किर्तनले लिए । नेपालले अन्य दुई विकेट रन आउटमा लिएको थियो ।

दक्षिण अफ्रिकाका लागि भने सोनवाबाईल बिडलाले ५७ रनको योगदान दिए । यस्तै डोमिनीक स्कटले ३३ रन जोड्दा बुहले भिड्लाले ३२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका बुहले, सोनवाबाईल, डक्टर विलियम र टेफो लेस्लेले एकएक विकेट लिए ।

नेपालले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ लाईन अपमा परिवर्तन गरेको थियो । अघिल्लो दुई खेलमा लगातार पराजित भएपछि नेपालले दक्षिण अफ्रिकाविरुद्ध सुनिल राना मगर र रमेश बहादुर बानिँयालाई सुरुवातमा ब्याटिङ गर्न पठाएको थियो ।

प्रशिक्षक रीजन प्रजुले रणनिती परीवर्तन गर्दा जित सम्भव भएको प्रतिकृया दिए । ‘दक्षिण अफ्रिकाविरुद्ध बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरे । दक्षिण अफ्रिका जस्तो सुबिधामा खेलेको टोलीलाई हामीले एक सय ५० रन भित्रै रोक्न सफल भयौं’, प्रशिक्षक प्रजुले भने, ‘साथै यस पटक ब्याट्सम्यानले पनि सम्यमित भएर खेले । यस पटक सुरुवाती ब्याट्सम्यानले जिम्मेवारी पुर्वक खेल्दा लक्ष्य पुरा गर्न पनि सफल भयौं । ब्याटिङ लाईन अपमा गरीएको परीवर्तनले सकारात्मक नतिजा दियो ।’ नेपालले आफ्नो चौथो खेलमा शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...