प्रशिक्षण र स्तरीय मिडिया सेन्टर निर्माण सहयोग: एआईपीएस एसिया अध्यक्ष मोहम्मद कासिम

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का अध्यक्ष मोहम्मद कासिमले वुधबार नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय भ्रमण गर्नुभएको छ ।

दुई दिने भ्रमणमा काठमाडौं आउनुभएका उहाँले एआईपीएस एसिया नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्दै अघि बढ्नको लागि सँधै तयार रहेको बताउनुभयो । ‘छ महिनाभित्र दोस्रोपल्ट नेपाल आउन पाउँदा खुशी लागेको छ । नेपाल मेरो लागि दोस्रो घर हो र फेरि पनि आइरहने चाहना छ,’ उहाँले भन्नुभयो, ‘दक्षिण एसियाली खेल पत्रकारको लागि प्रशिक्षण आयोजना गर्न र स्तरीय मिडिया सेन्टर निर्माणको लागि तत्काल मञ्चलाई सहयोग गर्न चाहन्छौं । अन्य ठूला कार्यक्रम र योजनामा पनि मञ्चसँग सहकार्य गर्न चाहन्छौं ।’

त्यस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले भन्नुभयो, ‘६ महिनाभित्र उहाँको दोस्रोपल्ट भएको नेपाल भ्रमणले पनि मञ्च र एआईपीएस एसियावचिको सम्बन्ध कस्तो छ भन्ने देखाउँछ । हामी खेलकुद पत्रकारिताको अभिबृद्धिको लागि हातेमालो गर्दै अघि बढ्न चाहन्छौं । चाँडै नेपाल र बहराइनका खेलकुद पत्रकारवीच भ्रमण आदनप्रदान पनि हुदैछ ।’

बहराइनका नागरिक रहनुभएका कासिमलाई मञ्चका अध्यक्ष महेश आचार्य, निवर्तमान अध्यक्ष अजय फुयाल, प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र), उपाध्यक्ष सञ्जिव शिल्पकार, महासचिव प्रकाश तिमल्सिनालगायतले स्वागत गर्नुभएको थियो । उक्त अवसरमा एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीको पनि उपस्थिति रहेको थियो । बंगलादेश हुदै मंगलबार काठमाडौं आउनुभएका कासिम विहीबार फर्कनुहुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...