दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता: नेपाल टेलिकम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १८ माघ । नेपाल टेलिकम दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘डि’ को लिग खेलमा टेलिकमले जनक शिक्षा सामाग्री केन्द्रलाई २५–१९ र २५–१९ को सोझो सेटमा पराजित ग-यो । जितसंगै टेलिकम विजेता बन्यो ।

यो समूहमा दुई टिम मात्र रहेकाले जनक शिक्षा पनि उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । समूह ‘ए’ बाट उदयपुर सिमेन्ट विजेता र नेपाल विद्युत प्राधिकरण उपविजेताहुँदै क्वाटरफाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा ओलीले खेलकुद सबै उमेरसमूहका लागि जरुरी भएको बताउदै प्रतियोगिता मित्रता बृद्धि गर्ने अवसर भएको धारणा राखे ।

सो कार्यक्रममा कांग्रेसका सांसद रामहरि खतिवडाले पनि खेलको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा पुरुष भलिबलसहित टेबलटेनिस र बुद्धिचालका विभिन्न चरणका खेल सम्पन्न भएको छ । विभिन्न १७ संस्थाका २ सय ४५ खेलाडी सहभागी प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...