शेरको पोस्टमा झापा ११ को ५ गोल

बिर्तामोड, माघ १५ । शनिबारदेखि सुरु झापा गोल्डकपको दोस्रो संस्करणमा आयोजक रमपम झापा एफसीले गोलवर्षा गर्दै विजयी सुरुवात गरेको छ । डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा झापाले पाहुनाटोली भारतको शेर फुटबल क्लब कालिम्पोङलाई ५–० गोल अन्तरले हरायो ।

घरेलु दर्शकको समर्थनसहित मैदानमा उत्रिएको झापा ११ ले सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन ग¥यो । झापाको जितमा सञ्जोग राई, बुद्ध चेम्जोङ, कर्ण लिम्बू, पुजन उपरकोटी र पिटर सेगुनले गोल गरे ।
खेलको चौँथो मिनेटमै झापाका लागि सञ्जोग राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । बुद्ध चेम्जोङको पासमा उनले सेकेन्ड बार च्याप्दै आकर्षक गोल गरेका थिए ।

झापाले एकोहोरो दबाब सिर्जना गरेको खेलको ३६औँ मिनेटमा बुद्ध चेम्जोङले शानदार गोल गर्दै अग्रता २–० पु¥याए । झापाली कप्तान कर्ण लिम्बूले मिलाइदिएको पासमा बुद्धले गोलपोस्टको दिशा दिएका थिए ।

त्यसको तीन मिनेटमै पुजन उपरकोटीले गोल थप्दै पहिलो हाफमा झापा ११ लाई ३–० को अग्रता दिलाए । झापाका लागि ४०औँ मिनेटमा पाएको कर्नर प्रहारमा उनले गाल गरे । कर्ण लिम्बूको प्रहारलाई पुजनले हेड गोल गरेका हुन् । झापाका पूर्व खेलाडी विकास राई, सानुका सुब्बासहित मैदान उत्रेको भारतको शेर फुटबल क्लब तुलनात्मकरुपमा झापा ११ भन्दा कमजोर देखियो । उसले रक्षात्मक खेलसम्म प्रदर्शन गर्न सकेन ।

दोस्रो हाफमा झापा झनै आक्रमक बन्यो । तर, शेर एफसीले केही सुधारिएको खेल प्रस्तुत ग¥यो । तर, स्कोरको खडेरी भने तोड्न सकेन । दोस्रो हाफको ३९औँ मिनेटमा झापाका कप्तान कर्ण लिम्बूले गोल गरेर ४–० गोलको फराकिलो अन्तर निकाले । यस्तै, झापाका लागि अफ्रिकन खेलाडी पिटर सेगुनले पनि गोल गर्न सफल भए । एक्लो प्रयासमा उनले खेलको ४१औँ मिनेटमा गोल गरेर उद्घाटन खेलमा ५–० गोलको जित दिलाउँदै झापालाई क्वार्टरफाइनल प्रवेश गराए ।

खेलको म्यान अफ दी म्याच झापाका पहिलो गोलकर्ता सञ्जोग राई भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ र दुई तोला चाँदीको मेडल प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक आशिष तामाङलाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

खेलको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उनले अनुशासित खेलको लागि शुभकामना दिँदै आफ्नो मन्तव्य टुंग्याएका थिए ।

प्रतियोगितामा एक विदेशी टोलीसहित १० टिमको सहभागिता छ । आइतबारको खेल एनआरटी क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...