मनाङलाई आहारारा गोल्डकपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी

रञ्जन अधिकारी पोखरा, १५ माघ / कमल श्रेष्ठको निर्णायक गोल मद्धतमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीीले १५ औं संस्करणको आहा रारा गोल्डकप उपाधि जितेको छ । पोखरा रंगशालामा खचाखच भरिएको दर्शकबीच शनिबार भएको फाईनल खेलमा उसले घरेलु टोली सहारा क्लबलाई १–० गोलले पराजित गरेको हो । तीन वर्ष अघि पहिलोपटक फाईनल खेल्दा सहारासँग १–० गोलले व्यहोरेको हारको बदला समेत मनाङले लिन सफल भयो । डिफेण्डिङ च्याम्पियन मनाङले लगातार उपाधि जित्न सफल भयो । उसले लगातार दोस्रो र तेस्रो संस्करणमा पनि उपाधि उचालेको थियो ।

अधिकांश राष्ट्रिय खेलाडी सहभागी मनाङका लागि खेलको ७० औं मिनेटमा डिफेण्डर कमल श्रेष्ठले गरेको एकमात्र गोल नै निर्णयका लागि पर्याप्त बन्यो । करीब ३५ यार्डबाट कमलले प्रहार गरेको बल सिधै पोष्टबाट छिरेको थियो । कमल फाईनल खेलको म्यान अफ दि म्याच समेत बने । यसअघि, मनाङले केहि अवसर सदुपयोग गर्न सकेन । सहाराले पनि राम्रो मौका चुकायो ।

विजयी मनाङले उपाधि सहित पाँच लाख एक हजार, उपविजेता सहाराले दुई लाख ५१ हजार साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई प्रमुख अतिथि महिला तथा बालबालिका कल्याणमन्त्री कुमार खड्का लगायतले पुरस्कृत गरे ।

योसँगै मनाङले उपाधि संख्या पाँच पु¥याएको छ । क्याराभान र १५ संस्करणमा १३ पटक सहभागी मनाङले १० पटक फाईनल खेल्दै सर्वाधिक पाँच पटक उपाधि जितेर ईतिहास रचेको छ । दशौं संस्करणको विजेता पनि मनाङनै हो । पुलिस र थ्रीस्टारले चार चार पटक उपाधि जितेको छ । क्याराभान सहित गरेर पुलिसको नाममा पाँच पुगेको हो । मनाङले यो सिजनमा दुई उपाधि जित्न सफल भएको छ । गत महिना धनगढीमा भएको गोल्डकपमा संकटालाई हराउँदै उपाधि जितेको थियो । हेटौंडा गोल्डकपमा भने आर्मीसँग पराजित भएपछि उपाधि विमुख भएको थियो ।

प्रतियोगितामा उपविजेता सहारा क्लबले नै विधागत उत्कृष्टतामा दबदबा कायम ग¥यो । प्रतियोगितामै उत्कृष्ट खेलाडी सहाराका गोलकिपर सुजित गुरुङ बने । उनले हिरो ड्यास स्कुटर प्राप्त गरे । उनले उत्कृष्ट गोलकिपर हुँदै नगद १५ हजार पनि पाए । यस्तै सहाराकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, शिव सुवेदी उत्कृष्ट फरवार्ड घोषित बन्दै १५ हजार नगद सहित पुरस्कृत भए । मनाङमस्र्याङदी क्लबका सुजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, निर्णायक गोलकर्ता कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने । अमेरिकाबाट आएको एएनए टोली विरुद्ध ह्याट्रिक गरेका झापा ११ का कर्ण लिम्बु त्यही खेलमा तीन गोलले सर्वाधिक गोल कर्ता बने भने झापाले फेयर प्लेको अवार्ड जित्यो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले रणनीति अनुसार खेलाडीले खेल्न नसकेपनि नतिजा आफ्नो पक्षमा आउँदा खुशी लागेको प्रतिक्रिया दिए । सहाराले डिफेन्स खेल्ने थाहा भएकाले साईडबाट च्यापेर खेल्न भनेपनि सो अनुसार खेलाडी प्रस्तुत नहुँदा गोलका लागि लामो समय कुर्नुपरेको उनको भनाई थियो ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले बलियो टीम सेट विरुद्ध पनि खेलाडीले उच्च प्रदर्शन गरेको बताए । उनले आफू खेलाडीदेखि सन्तुष्ट रहेको भन्दै मार्टिन र उत्तमको लगातारको प्रयास विफल हुनु र ३५ यार्डदेखि हानेको प्रहार गोलमा परिणत हुँदा आज भाग्यको साथ नमिलेको बताए । ५३ औं मिनेटमा मार्टिनले सिसोकोलाई छलाउँदै गरेको प्रहार किपर दिनेशले पूर्ण नियन्त्रणमा लिन सकेनन र रिबाउण्डमा उत्तम गुरुंगले प्रहार गरेको बल क्रस बारमा लाग्दै फर्किएको थियो ।

सहाराले फाईनमा आईपुग्दा सुदुरपश्चिमलाई ४–०, तथा सिक्किम युनाइटेड र आर्मीलाई टाइब्रेकरमा हराएको थियो । सिधै क्वार्टरफाइनल खेलेको मनाङले धरान एफसीलाई ४–१ तथा संकटालाई १–० गोलले हराएको थियो । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा यही माघ ४ गते देखि सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका चर्चित क्लबहरु गरी यसअघि झैं १२ टीमको सहभागिता थियो ।

विधागत उत्कृष्ट

उत्कृष्ट खेलाडी – सुजित गुरुङ (सहारा क्लब)
उत्कृष्ट प्रशिक्षक– किरण श्रेष्ठ (सहारा क्लब)
उत्कृष्ट फरवार्ड – शिब सुबेदी (सहारा क्लब)
उत्कृष्ट मिडफिल्डर – सुजल श्रेष्ठ (मनाङमस्र्याङदी क्लब)
उत्कृष्ट किपर –सुजित गुरुङ (सहारा क्लब)
उत्कृष्ट डिफेन्डर – कमल श्रेष्ठ (मनाङमस्र्याङदी क्लब)
सर्वाधिक गोल कर्ता – कर्ण लिम्बु, तीन गोल (झापा–११)
फेयर प्ले– झापा ११

तस्विर सौजन्यः उमेश पुन


प्रतिक्रिया दिनुहोस

Loading...