शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिता: श्यान्टू र शिव क्वाटरफाइनलमा

काठमाडौं माघ १४ गते । नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र एपीएफ क्लबका शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन श्यान्टूले काठमाडौंका निहाल श्रेष्ठलाई ४–० तथा शिवले एभीएमका सन्योग कपालीलाई ४–० को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समै एपीएफका चन्दन शाहीले प्रहरीका राकेश महर्जनलाई ४–२, प्रहरीका प्रदीप रोकाले काठमाडौंका नरेश रावललाई ४–३, नेपाल आर्मीका मणिकुमार लामाले एपीएफका उमेश मानन्धरलाई ४–१, एपीएफका अमरलाल मल्लले काठमाडौंका घनश्याम शर्मालाई ४–०, लिभरपुलका नारायण घिमिरेले एपीएफका राजिव चिकबन्जारलाई ४–३ तथा एपीएफका विलोश श्रेष्ठले लिभरपुलका रितिज जोशीलाई ४–३ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा प्रहरीकी एलिना महर्जनले एपीएफकी एलिना राईलाई ४–१, एपीएफकी सिक्का सुवालले आर्मीकी सनिता श्रेष्ठलाई ४–०, एपीएफकी अनिता महर्जनले प्रहरीकी सुजाता दुवाललाई ४–२ तथा आर्मीकी रविना महर्जनले एपीएफकी सोनु थापा मगरलाई ४–१ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । पुरुष÷महिला सिंगल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ३–३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सम्झना लेबोरेटरी क्लिनिकका निर्देशक उर्दिप जोशी र आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले खेल खेली संयुक्त उद्घाटन गरे । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...