१५ औं आहा रारा गोल्डकप उपाधि: सहारा कि मनाङ ?

रञ्जन अधिकारी पोखरा, १४ माघ / ‘मनाङको होम ग्राउण्ड कुन हो ? भन्दा हामी पोखरा नै हो भन्छौं ।’ टोलीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पत्रकारमाझ भने – ‘आयोजकको घरेलु मैदान त पक्कै हो तर हाम्रो पनि होम ग्राउण्ड नै हो । त्यसैले प्रेसर छैन ।’ आडैमा रहेका सहाराका प्रशिक्षक किरण श्रेष्ठले पनि घरेलु मैदानको फाइदा उठाउन सहारा तयार रहेको बताए ।

१५ औं संस्करणको आहा रारा गोल्डकप उपाधि भिडन्तको अघिल्लो दिन शुक्रबार प्रि–म्याच कन्फरेन्समा पोखरा रंगशालामा सँगै उपस्थित भएका दुवै टोलीका प्रशिक्षक र टिम क्याप्टेनले एक अर्कोलाई कम नआँक्ने बताए । तर जित भने आफ्नै पक्षमा रहने उनीहरुको दाबी थियो । मनाङ पाँचौ पटक उपाधि उचाल्दै ईतिहास रच्ने दाउमा छ भने सहारा दोस्रो पटक उपाधि उम्कन नदिने रणनीतिमा छ ।

मनाङ प्रशिक्षक गुरुङले टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेकाले पनि जितको आधार बलियो भएको तर्क गरे । ‘विपक्षी टिम राम्रै छ । राम्रो भएर नै फाईनल आईपुगेको हो । हाम्रो पनि सेट टीम हो । राष्ट्रिय खेलाडी पनि धेरै छ ।’ उनले भने ‘पहिलो १० मिनेटमै गोल गर्न सके स्कोर राम्रो गर्न सक्छौं । चर्चित र ट्रेडमार्कको कारण पनि मनाङको मनोबल उच्च छ ।’

मनाङका टिम क्याप्टेन अनिल गुरुङले फाइनल खेलका लागि कुनै दबाब नरहेको बताए । उनले भने– ‘प्रेसर लिएका छैनौं । फाइनल भएकाले फाईनल जस्तो गेम खेल्छौं । जसले राम्रो खेल्छ उसले जित्छ ।’ कप्तान अनिल पोखरेली हुन् र पोखराका अधिकांश फुटबलप्रेमीको साथ मनाङलाई नै रहेकाले उसले घरेलु मैदान नै सोचेर मैदान उत्रन लागेको हो ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङ बलियो टिम भएपनि जितको रणनीतिका साथ खेल्ने बताए । राष्ट्रिय खेलाडी र विदेशी खेलाडीको कारण विपक्षी बलियो भएपनि नआत्तिईकन अनुशाषित तबरले खेलाडीको प्रदर्शन रहने भएकाले जित्नेमा आफू ढुक्क रहेको बताए ।

क्याराभान सहित १६ पटकको प्रतियोगितामा मनाङले आयोजकसँग यसअघि छ पटक सामना गरेको छ । दुई पटक मात्र सहाराले जितेको छ । फाईनलमा एक पटक मात्र भेट भएकोमा १२ औं संस्करणमा सहाराले मनाङलाई १–० ले स्तब्ध पार्दै च्याम्पियन बनेको थियो । त्यसअघि ११ औं संस्करणको उपाधि होडमा थ्रिस्टरसँग पराजित हुदै सहारा उपविजेतामा सिमित रहँदा फाईनल यात्रा मनाङलाई नै टाईब्रेकरमा पराजित गर्दै तय गरेको थियो ।

नवौं संस्करणमा मनाङसँग सहारा सेमिफाईनलमा ४–०, तेस्रो संस्करणमा सहारा रातो सेमिफाईनलमै ३–१, दोस्रो संस्करणमा सहारा रातो सेमिफाईनलमै ३–२ र क्याराभान गोल्डकपमा क्वार्टरफाईनलमा सहारा सेतो ३–१ ले पराजित भएको थियो ।

क्याराभान सहित सबैभन्दा बढि १० पटक फाईनल पुगेको मनाङले चार पटक उपाधि जितिसकेको छ। उसले दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणको उपाधि उचालेको हो । मनाङ छैटौं र सातौं संस्करणमा पोखरा आएन । क्याराभान सहित पुलिसले पाँच पटक उपाधि जितेको छ । आहामा अहिले सम्म नौ टोलीले मात्र फाइनल खेलेका छन् । चार पटक फाइनल खेलको थ्री स्टार चारै पटक च्याम्पियन बनेर फर्केको छ । त्यस्तै अर्को विभागिय टोली आर्मी भने तीन पटक फाईनल खेल्यो तर उपाधि जित्न सकेन अफ्रिकन युनाइटेडले एकपटक फाईनल खेलेकोमा उपाधि नै जित्यो भने एपिएफ, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले पनि एक पटक फाईनल खेलको अनुभव बटुलेका छन् ।

जारी प्रतियोगितामा सहाराले पहिलो खेलबाहेक टाईब्रेकरमै नतिजा निकालेर संघर्षपूर्ण जितका साथ फाइनलको यात्रा तय गरेको थियो । मनाङलाई पनि सेमिफाइनल पार गर्न कठिन भयो । सहाराले पहिलो चरणमा सुदुरपश्चिमलाई ४–० ले सहजै हराउँदै क्वार्टरफाइनल पुगेको थियो भने त्यसपछि सिक्किम युनाइटेड र आर्मीलाई हराउन टाइब्रेकरसम्म कुर्नु परेको थियो । उता सिधै क्वार्टरफाइनल खेलेको मनाङले धरान फुटबल क्लबमाथि ४–१ ले सजिलै जित निकाल्न सफल भएपनि सेमिफाइनलमा संकटाविरुद्ध १–० गोलको कठिन जित थियो ।

राष्ट्रिय लिगमा तेस्रो भएको भएको साविक विजेता मनाङले गत वर्ष आहारारा गोल्डकप सहित बुढासुब्बा गोल्डकपको उपाधि पनि जितेको थियो । सहारा भने खेलाडीहरु टिपनटापन गरेर कहिलेकाहिँ विभिन्न प्रतियोगिता खेल्दै आएको छ ।

सहाराबाट मानबहादुर र हेमन

राष्ट्रिय टोलीका हेमन गुरुङ र मानबहादुर तामाङ प्रतियोगिताको उपाधि भिडन्तमा आयोजक सहारा क्लबबाट खेल्दैछन् ।

सहाराका प्रशिक्षक किरणले श्रेष्ठले हेमन र मानबहादुर खेल्ने जानकारी दिएका हुन्। यी दुई खेलाडीलाई पहिलो खेलबाटै उतार्ने प्रयास भने बल्ल सफल भएको छ । सहाराका बबी ओगोला ओडोंगोले आमी विरुद्धको खेलमा रातो कार्ड पाएपछि सहाराले अर्को खेलाडी राख्ने पूर्वानुमान थियो ।

हिमालयन शेर्पामा आबद्ध यी दुई खेलाडीले गत सिजन एपिएफबाट खेलेका थिए। मानबहादुर सहारा एकेडेमीकै उत्पादन हुन्। हेमन पोखराबासी हुन्। बंगबन्धु, साग र एएफसी सोलिडारीटी कप जित्दा हेमन तीनै पटक राष्ट्रिय टोलीका सदस्य थिए भने मानबहादुर बंगबन्धु र सागमा टोलीमा थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...