मनाङ मस्र्याङ्दी फाईनलमा, दश खेलाडीमा सीमित संकटा १ ० गोलले पराजित

रञ्जन अधिकारी पोखरा, १३ माघ / सत्ताईस मिनेट १० खेलाडीमा सीमित सीमएजी क्लब संकटालाई पन्छाउँदै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब उपाधि भिडन्तमा उभिएको छ । १५ औं आहा रारा गोल्डकप अन्तर्गत पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा ओलावालेको निर्णायक गोलमा मनाङले संकटालाई १–० गोलले हराउन सफल भएको हो । संकटाको आगामी यात्रामा मनाङ नै संकट बनेर उभिएपछि पहिलो पटक फाईनल पुग्ने योजना पूरा हुन सकेन । यसअघि दुई पटक क्वार्टरफाईनलमा संकट बनेर उभिएको मनाङलाई टार्न यसपटक पनि संकटा असफल रह्यो ।

क्याराभान सहित सबैभन्दा बढि १० पटक फाईनल पुगेको मनाङले चार पटक उपाधि जितिसकेको छ। पाँचौ उपाधिका लागि अब शनिबार उसले आयोजक सहारा क्लबको सामना गर्नेछ । घरेलु टोली सहाराले बुधबार पहिलो सेमिफाईनलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ गोलले पन्छाउँदै फाईनल पुगिसकेको छ ।

खेलमा म्यान अफ दि म्याच मनाङका रोहित चन्द भए । खेलमा दुवै टोलीले केहि राम्रा अवसर खेर फाले । संकटा भन्दा केहि हावी भएको मनाङले स्कोरका लागि भने अन्तिम समय नै कुर्नुप¥यो । संकटा १० खेलाडीमा सीमित रहेका बेला ८६ औं मिनेटमा अफ्रिकन चर्चित खेलाडी अफिज ओलावाले ओलाडिपोले गोल गरेपछि निर्धारित समयमै मनाङले नतिजा निकाल्न सफल बन्यो । यसअघि, ६३ औं मिनेटमा संकटाका शुशिल केसी दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडे । पोखरेली खेलाडी शुशिललाई विपक्षी टीम मनाङका कप्तान अनिल गुरुङले फल गरेपनि शुशिल लडेका थिए । पोखरेली अनिलले शुशिललाई हात दिएर उठाउन खोज्दा अश्लिल शब्द प्रयोग गरेको भन्दै फिफा रेफ्री विकास महतले शुशिललाई पहेंलो कार्ड देखाए । ४ मिनेट अघि नै शुशिलले पहिलो पहेंलो कार्ड पाईसकेकाले दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड व्यहोर्दै उनी बाहिरिए ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो पहेंलो कार्ड नै खेलको टर्निङ प्वाईन्ट बनेको प्रतिक्रिया दिएका छन् । खेलाडी अनुशाषित रहनुपर्नेमा आफू दृढ रहेपनि रेफ्रीको निर्णय पक्षपातीपूर्ण रहेको भन्दै उनले चर्को असन्तुष्टि व्यक्त गरे । ‘फिफा रेप्रफीले यस्तो निर्णय गर्नुहुन्न । राष्ट्रिय टीमका खेलाडीलाई जे गरेपनि छुट । हामीलाई सानो कुरामा कार्ड दिने गरेको छ ।’ उनले गुनासो गरे– ‘आजको खेल १४ भर्सेज ११ खेलाडीको हो । रेफ्रीको निर्णय सबै विपक्षीको पक्षमा रह्यो । पहिलो पहंलो कार्ड दिन जरुरी थिएन ।’ शुशिलले ५९ औं मिनेटमा विपक्षी विमल रानालाई ट्याकल गरेपछि कार्ड पाएका थिए । खड्गीले खेलाडीले सक्दो मेहनत गरेर खेलेको र पहिलो हाफमा मनाङ रोक्न सफल भएको भन्दै दोस्रो हाफमा रेफ्रीकै कारण खेल बदलिएको बताए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने रेफ्रीको निर्णय सही नै भएको बताए । उनले सुरुको १० मिनेटमै गोल गर्न नसकेपछि स्कोरिङका लागि धेरै मेहनत गर्नुपरेको उल्लेख गर्दै १० खेलाडीको फाईदा अवश्य पनि हुने बताए । उनले पहिलो हाफमा खेलाडीले भनेअनुसार नखेल्दा मिडफिल्ड र स्ट्राईकरबीच समन्वय अभाव भएको बताए ।

यसअघि, सिधै बाई पाएर क्वार्टरफाईनल खेलेको मनाङमस्र्याङ्दीले धरान एफसीलाई ४–१ गोलले हराएको थियो । संकटाले भने प्रिक्वार्टरमा नेपाल पुलिसलाई २–१ र क्वार्टरफाईनलमा बंगलादेशको नारायणगञ्ज एफसीलाई २–० गोलले हराएको हो । मनाङ र संकटाबीच दुई साता अघि खप्तड गोल्डकपमा भेट भएकोमा त्यसबेला संकटा १–० गोलले हारेको थियो । त्यसअघि नारायणगढमा भने संकटाले मनाङलाई सेमिफाईनलमा हराएको थियो ।

सहारा क्लबले क्याराभान सहित १६ पटक आयोजना गरेको फुटबल प्रतियोगितामा मनाङ २०६४ र २०६५ सालमा बाहेक हरेक पटक पोखरा आएको छ । १४ पटकमा उसले ९ पटक फाईनल खेलिसक्दा चार उपाधि जितिसकेको छ भने यो दशौं पटक उपाधि भिडन्त हो । संकटा क्लबको भने यो तेस्रो सहभागिता हो । यसअघि दुई सहभागितामा पनि मनाङले नै संकटाको अगाडिको यात्रा बन्द गरेको थियो । १२ औं संस्करणमा क्वार्टरफाईनलसम्म यात्रा तय गरेको संकटाले जावलाखेललाई १–० गोलले हराउँदा मनाङसँग २–० ले हार व्यहोरेको थियो । तेस्रो संस्करणमा धरानलाई २–० ले हराएको संकटा मनाङसँगै क्वार्टरफाईनलमा २–० ले नै पराजित भएको थियो ।

शनिबार फाईनल खेल

सहारा क्लब पोखरा
विरुद्ध
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब

तस्विर सौजन्यः युनिस गुरुङ


प्रतिक्रिया दिनुहोस

Loading...