सहारालाई टाईब्रेकरको सहारा, आर्मीसँग बदला लिँदा तेस्रो पटक फाईनलमा

रञ्जन अधिकारी पोखरा, १२ माघ / आहा रारा गोल्डकप प्रतियोगितामा आयोजक टोलीलाई प्रायः टाईब्रेकरमा साथ मिल्ने गरेको छ । घरेलु टोली सहारा क्लब टाईब्रेकरकै सहारामा जारी प्रतियोगितामा सेमिफाईनल हुँदै फाईनल प्रवेश ग¥यो । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सशक्त टोली त्रिभुवन आर्मीलाई टाईब्रेकरमा ४–३ गोलले पन्छाउँदै उपाधि नजिक पुगेको हो । सहारा तेस्रो पटक फाईनल पुग्न सफल भएको छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा गोल हुन नसकेपछि निर्णयका लागि टाईब्रेकर नै कुर्नुपरेको हो ।

यसअघि अन्तिम चारमा स्थान बनाउन पनि सहाराले टाईब्रेकरकै सहारा लिएको हो । भारतको सिक्किम युनाईटेड विरुद्धको क्वार्टरफाईनल खेलमा निर्धारित तथा अतिरिक्त समयमा गोलरहित बराबरपछि टाईब्रेकरमा ४–२ गोलले पराजित गरेको थियो । यो जितसँगै सहाराले गत संस्करणमा पहिलो सेमिफाईनलमा आर्मीसँग २–० गोलले व्यहोरेको हारको बदला समेत लिएको छ । सहाराको जितमा सुशन गुरुङ, शिव सुवेदी, प्रदिप गुरुङ र उत्तम गुरुङले गोल गरे । आर्मीका तर्फबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दिपकुमार लामाले मात्रै गोल गर्न सके । आर्मीका दिपक गुरुङले पोष्टबाट निकै उचाईंमा बल फ्याकेर निराश बनेको बेला सहाराका लक्ष्मण जिसीको पेनाल्टी प्रहार किपर विकेश कुथुले बचाउ गरेपछि आर्मी हौसिएको थियो तर अन्तिममा आफै पेनाल्टीका लागि अग्रसर भएका किपर कुथुको प्रहार विपक्षी किपर सुजित गुरुङले रोकिएपछि आर्मीले लगातार फाईनल पुग्ने मौका चुकाएको हो ।

सहाराले जितको लागि पोखरा रंगशालामा धेरै समय मेहनत गर्नुपरेको यो संस्करणमा मात्र होईन । १२ औं संस्करणमा मनाङलाई १–० गोलले हराएर उपाधि जित्दा सहाराले पहिलो सेमिफाईनलमा मच्छिन्द्र एफसीलाई ४–३ गोलले नै टाईब्रेकरमा हराएको थियो । त्यसअघि, ११ औंमा उपविजेता बन्ने क्रममा पनि क्वार्टरफाईनलमा मनाङ मस्र्याङ्दीलाई ४–२ र सेमिफाईनलमा आर्मीलाई नै ४–२ गोलले टाईब्रेकरमै पन्छाएर फाईनल खेलेको थियो तर उपाधि भिडन्तमा थ्रीस्टारसँग १–० गोलले हारेको थियो । सहारा १३ औं संस्करणमा भने नवजनजागृतिसँग उद्घाटन खेलमै टाईब्रेकरको शिकार भएको थियो । सुरुतिर भने सहाराको पक्षमा नतिजा आएन । छैटौंमा पनि सेमिफाईनलमा नेपाल पुलिससँग सडेन डेथमा खेल सुम्पिएको थियो । चौथोमा सहारा रातो र निलो दुवै टीम प्रिक्वार्टरमै एन्फा र रुपन्देहीसँग टाईब्रेकरमा खेल गुमाउन बाध्य भएको थियो ।

सहाराका बबी ओगोला ओडोंगोले प्रतियोगितामै पहिलो रातो कार्ड पाए। उनले अतिरिक्त समयको अन्तिम ईन्जुरी समयमा आर्मीका कप्तान भरत खवासलाई ट्याकल गरेपछि रेफ्री सुदिश पाण्डेले सिधै रातोकार्ड देखाए । सहारालाई फाईनलमा उनको अभाव खड्कने देखिएको छ । खेलमा दुवै टीमले केहि राम्रा प्रयास खेर फाले । सहाराको रणनीति नै रक्षात्मक थियो भने आर्मी आक्रामक रुपमा प्रस्तुत भएको थियो । यद्यपी, डिफेन्स लाईन चिर्न आर्मीलाई हम्मे पर्दा खेलमा स्कोर हुन सकेन ।

खेलको ३१ औं मिनेटमा आर्मीका टेक बुढाथोकीले उत्कृष्ट मौका गुमाएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा सहाराका कप्तान उत्तमको कर्नर प्रहार शिव सुवेदीले हेड गर्दा विपक्षी किपर विकेशले विफल पारे । खेलपछि पोष्ट म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपानेले पाएका अवसर खेर जानु र विपक्षी रक्षापंक्तिको सामना गर्न नसक्नु नै हारको कारण रहेको जनाए । उनले सहाराले रक्षात्मक रणनीति अपनाउँदा फ्रण्ट लाईनमा मुभमेन्ट बनाउन नसकेको स्वीकार गरे ।

जितपछि सहाराका प्रशिक्षक किरण श्रेष्ठले आर्मी सशक्त टीम भएकोले रक्षात्मक रणनीति अपनाएको जनाउँदै यसमा सफल भएको बताए । गोलकिपरले केहि प्रहार बचाउ गर्दै आएकाले आफूहरुलाई पेनाल्टीसुटआउटको दबाब कम भएको भन्दै उनले टीम पनि कमजोर भएको खेलाडी पनि अनुभवी नभएकाले जोखिम नमोली खेलेको बताए ।

जारी प्रतियोगितामा सहाराले प्रिक्वार्टरमा सुदुरपश्चिम फुटबल क्लबलाई ४–० गोलले हराएको थियो भने बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको त्रिभुवन आर्मी क्लबले भने झापा ११ लाई २–० गोलले पराजित गरेको थियो । अन्य विभागीय टीमहरु पुलिस र एपीएफले अन्तिम चारमा आफूलाई उभ्याउन सकेन भने बाँकी एकमात्र विभागीय टीम आर्मी पनि उपाधि होडमा पुग्न सकेन । दशौं पटक सहभागी आर्मी गत वर्ष सहित तीन पटक फाईनल खेल्यो । पोहोर मनांग तगारो बनेको थियो भने सातौं र आठौं संस्करणमा नेपाल पुलिससँग पराजित भएको थियो ।

अब दोस्रो सेमिफाईनल खेल विहीबार सिएमजी क्लब संकटा र साविक विजेता मनाङमस्र्याङ्दी क्लबसँग हुनेछ । विजेतासँग माघ १५ गते सहाराले उपाधिका लागि खेल्नेछ । क्वार्टरफाईनलमा मनाङमस्र्याङ्दीले धरान फुटबल क्लबलाई ४–१ गोलले हराएको हो । संकटाले भने नेपाल पुलिसलाई २–१ र बंगलादेशको नारायणगञ्जलाई २–० गोलले हराएको हो । तेस्रो सहभागितामा पहिलो पटक संकटा सेमिफाईनल पुग्न सफल भएको छ । मनाङ र संकटाबीच पछिल्लो पटक खप्तड गोल्डकपमा भेट भएकोमा त्यसबले संकटा १–० गोलले हारेको थियो । त्यसअघि नारायणगढमा भने संकटाले मनाङलाई सेमिफाईनलमा हराएको थियो । क्याराभान सहित सबैभन्दा बढि नौ पटक फाईनल खेलिसकेको मनाङले चार पटक उपाधि जितिसकेको छ।

यसैबीच, तमु धिं नेपालले सहारा एकेडेमीको लागि सहयोग हस्तान्तरण गरेको छ । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यलाई एक लाख एक हजार एक सय ११ रुपैंयाको चेक हस्तान्तरण गरेकी हुन् ।

आजको दोस्रो सेमिफाईनल

सिएमजी क्लब संकटा
विरुद्ध
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब

Photo: Unish Gurung


प्रतिक्रिया दिनुहोस

Loading...