संकटाद्वारा बंगलादेशी टीम पराजित, सेमिफाईनल समिकरण पूरा

रञ्जन अधिकारी पोखरा, ११ माघ / सिएमजी क्लब संकटा बंगलादेशबाट हतारमा आएको पाहुन टोलीलाई पन्छाउँदै आहा रारा गोल्डकप प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । नारायणगञ्ज एफसीलाई २–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जीतमा निराजन खड्का र विश्वास श्रेष्ठले गोल गरे ।

मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । संकटासँगै आयोजक सहारा क्लब, लक्ष्मी हुण्डाई मनाङमस्र्याङ्दी, त्रिभुवन आर्मी क्लब उपाधि होडमा उभिएका छन् । संकटाले जीतसँगै मनाङमस्र्याङ्दी क्लबसँग भेट पक्का गरेको छ । अब फाईनल प्रवेशको लागि माघ १३ गते दोस्रो सेमिफाईनल खेल्नेछ । क्वार्टरफाईनलमा मनाङमस्र्याङ्दीले धरान फुटबल क्लबलाई ४–१ गोलले हराएको हो । संकटाले भने नेपाल पुलिसलाई २–१ गोलले हराएको हो । तेस्रो सहभागितामा पहिलो पटक संकटा सेमिफाईनल पुग्न सफल भएको छ । मनाङ र संकटाबीच पछिल्लो पटक खप्तड गोल्डकपमा भेट भएकोमा त्यसबले संकटा १–० गोलले हारेको थियो । त्यसअघि नारायणगढमा भने संकटाले मनाङलाई सेमिफाईनलमा हराएको थियो ।

बुधबार पहिलो सेमिफाईनल खेल आयोजक सहारा क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सहाराले प्रिक्वार्टरमा सुदुरपश्चिम फुटबल क्लबलाई ४–० गोलले हराएको थियो भने क्वार्टरफाईनलमा सिक्किम युनाईटेडलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गरेको थियो । बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको त्रिभुवन आर्मी क्लबले भने झापा ११ लाई २–० गोलले पराजित गरेको थियो ।

पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाईनलमा खेलाडीको प्रदर्शन र स्कोर अभावले खेल हेर्न पुगेका दर्शकहरु खुलेर हौसिएनन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा ५३ औं मिनेटमा विश्वास श्रेष्ठको कर्नर प्रहारमा आएको बललाई हेडमार्फत निराजनले पोष्टको दिशा दिए । दोस्रो हाफको पहिलो ईन्जुरी समयमा विश्वासले दोस्रो गोल गर्दै टोलीलाई २–० को जीत दिलाए । खेलको म्यान अफ दि म्याच संकटाका विदेशी खेलाडी अफिज भए ।

खेलमा दुवैका केहि मौका गुमे । पहिलो हाफको ईन्जुरी दोस्रो मिनेटमा बंगलादेशी टीमका मो. रोनीको लामो प्रहार क्रसबारमा लाग्यो । ८३ औं मिनेटमा बंगलादेशी टीमबाट पोष्टमा बल पुगेपनि लाईन्समेनले अफसाईडको संकेत दिए । ८१ औं मिनेटमा रुनीकै वान भर्सेज वानको प्रहार विपक्षी किपर विनय श्रेष्ठले विफल पारे ।

बंगलादेशी टीम हतारमा पोखरा आएकोले पनि खेलाडीहरु निकै थकित देखिन्थे । यसअघि खेल्ने भनेको प्राराजगज स्पोर्टिङ क्लब प्राविधिक कारणा देखाउँदै नआउने भनेपछि नारायणगञ्ज रातारात पोखरा आएको हो । उसको यो पहिलो सहभागिता हो । संकटा क्लबको भने यो तेस्रो सहभागिता हो । प्रिक्वार्टरमा संकटाले नेपाल पुलिसलाई २–१ गोलले हराएको थियो । १२ औं संस्करणमा क्वार्टरफाईनलसम्म यात्रा तय गरेको संकटा त्यसअघि तेस्रो संस्करणमा पनि क्वार्टरफाईनल पार गर्न सकेको थिएन ।

खेलपछि बंगलादेशी टीमका सहायक व्यवस्थापक साईफुलले थकानका कारण खेल्न असमर्थ भएको बताए । दुई दिन अघिमात्रै थाहा भएपछि रातारात पोखरा आएर एकैपटक मैदानमा बल छोएको जनाए । चार खेलाडी राष्ट्रिय टोलीका भएपनि थकानका कारण खेल्न नसकेको र भरपर्दो गोलकिपर घाईते हुने नै हारको कारणा रहेको उनको भनाई थियो । संकटाका फरवार्ड सुनिल बलको पनि उनले खुलेरै तारिफ गरे ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले समयमै स्कोर गर्न नसक्दा खेल सोचेजस्तो नभएको बताए । विपक्षी टीममा खेल भरपर्ने भन्दै उनले मनाङसँग राम्रो खेल्ने समेत जनाए ।

आजको पहिलो सेमिफाईनल
सहारा क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब

तस्विर सौजन्यः युनिस गुरुङ


प्रतिक्रिया दिनुहोस

Loading...