आर्मी अन्तिम चारमा, २–० गोलले झापा ११ पराजित

रञ्जन अधिकारी पोखरा, १० माघ / साविक उपविजेता त्रिभुवन आर्मी उपाधि होडको प्रतिष्पर्धामा अघि बढेको छ । अन्तिम चारमा स्थान बनाउने क्रममा सोमबार रमपम झापा ११ लाई २–० गोलले हराएको हो । आर्मीलाई सेमिफाईनल पु¥याउन कप्तान भरत खवास र नवयुग श्रेष्ठको एक–एक गोलको योगदान रह्यो । अब फाईनल प्रवेशको लागि आर्मीले माघ १२ गते हुने पहिलो सेमिफाईनलमा घरेलु टोली सहारा क्लबको सामना गर्नेछ ।

पोखरा रंगशालामा चलिरहेको प्रतियोगितामा सातौं दिनको खेलमा आर्मी प्रतिद्वन्द्वी पाएको झापाले यसअघि प्रिक्वार्टरमा अमेरिकाबाट आएको एएनए टीम विरुद्ध सहज रुपमा ४–१ को जित निकालेको थियो । तर, आमी विरुद्धको खेलमा भने प्रयास गर्दागर्दै स्कोर निकाल्न सकेन ।

हालै हेटौंडा कप जितेको आर्मी र काकडभिट्टा गोल्डकप जितेको झापा दुवै आक्रामक रणनीतिका साथ उत्रँदा दर्शकले खेल अवधिभर मनोरञ्जन लिए । खेलको ४६ औं मिनेटमा म्यान अफ दि म्याच समेत बनेका नवयुगले गोलको खाता खोले । सन्तोष तामाङको पासमा गोलकिपर बिट भइसकेपछि नवयुगले हेडमार्फत गोल गरेका थिए । खेलको ७० औ मिनेटमा भरत खवासले गोल गरे । करिब मैदानको मध्ये भागबाट बल अघि बढाउँदै एकल प्रयासमा भरतले गरेका थिए । खेलमा एकमात्र पहेंलो कार्ड भरतकै नाममा रह्यो ।

आर्मीले सुरु देखि नै पोष्टमाथि आक्रमण बुनेको थियो । १३ औं मिनेटमा सन्तोष तामाङको लामो दुरीको फ्रिकिक प्रहार बारमा लागेर गोल हुनबाट चुक्यो । ४२ औं मिनेटमा भरत खवासले तीन डिफेण्डर छक्याउँदै मिलाईदिएको बल दिपकुमार लामाले हेडमार्फत पोष्टको दिशा दिएपनि विपक्षी गोलकिपर किशोर गिरीले उत्कृष्ट बचाउ गरे । आठौं मिनेटमा आर्मीका सुमन अर्यालको क्रसमा नवयुगले गरेको हेड प्रहार झापाका किपर बिट भएको अवस्थामा रक्षापंक्तिले विफल पारे ।

झापाले पनि केहि प्रयास गरेको थियो । बुद्ध चेमजोंगले मिलाईदिएको बल योगेश गुरुंगले नजिकैबाट पोष्ट तर्फ प्हार गरेपनि पोल नजिकैबाट बाहिरियो । १९ औं मिनेटमा आर्मीले पाएको कर्नरमा सन्तोष तामांगको प्रहार रञ्जित श्रेष्ठले क्लियर गरे । मैदानको बीच भागतिर रहेका कर्ण लिम्बुले काउण्टर गोल गर्नबाट चुके । झापाले अन्तिम १५ मिनेट सक्दो कसरत गर्यो । नरेन्द्रमणि लिम्बुको स्थानमा कप्तानी सम्हालेका योगेश गुरुङको केहि प्रहार सफल हुन सकेन ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले खेलबाट आफू सन्तुष्ट रहेको जनाए । उनले अहिलेसम्म जित्न नसकेको आहा रारा गोल्डकप जित्ने लक्ष्यका साथ पोखरा आएको बताए । मनाङले जितेका चारै संस्करणमा खेलाडीका रुपमा सहभागी न्यौपाने यसपटक प्रशिक्षकका रुपमा आर्मीलाई चौथो पटक उपाधि होडमा उभ्याएर जिताउने ध्याउन्नमा छन् । आर्मी गत वर्ष सहित तीन पटक फाईनल खेलिसकेको छ । सातौं र आठौं संस्करणमा पनि लगातार फाईनल पुगेको आर्मी दुवै पटक नेपाल पुलिससँग पराजित भएको थियो । प्रतियोगितामा आर्मीको यो दशौं सहभागिता हो ।

झापाका प्रशिक्षक सञ्जय राईले खेलाडीबीच तालमेल मिल्न नसक्दा हार व्यहोरेको बताए । उनले आर्मी सशक्त टीम पनि भएको र विशाल राई जस्ता खेलाडी फिट नहुँदा हार व्यहोरेको उल्लेख गरे । पूर्वेली टोली झापा ११ को यो चौथो सहभागिता हो । गत संस्करणमा झापाले सेमिफाइनलसम्म यात्रा गरेको थियो । १३ औं संस्करणमा पहिलो खेलमै हारेको थियो भने २०५९ को पहिलो संस्करणमा पनि क्वार्टरफाईनलको यात्रा तय गरेको थियो ।

मंगलबार अन्तिम क्वार्टरफाईनलमा सिएमजी क्लब संकटा र बंगलादेशको नारायणगज एफसीबीच प्रतिष्पर्धा हुनेछ । प्राविधिक कारण देखाउँदै यसअघि खेल्ने भनेको प्राराजगज स्पोर्टिङ क्लब नआउने भनेपछि नारायणगज आएको हो । टोली रातारात काठमाण्डौबाट पोखरा आएर पोखरा रंगशाला मैदान उत्रनेछ । उसको यो पहिलो सहभागिता हो । संकटा क्लबको भने यो तेस्रो सहभागिता हो । प्रिक्वार्टरमा संकटाले नेपाल पुलिसलाई २–१ गोलले हराएको थियो । १२ औं संस्करणमा क्वार्टरफाईनलसम्म यात्रा तय गरेको संकटा त्यसअघि तेस्रो संस्करणमा पनि क्वार्टरफाईनल पार गर्न सकेको थिएन । बंगलादेशलाई हराएको खण्डमा तेस्रो पटकमा ऊ सेमिफाईनल टेक्नेछ ।

संकटा र बंगलादेशको टोलीबीचको विजेताले माघ १३ गते दोस्रो सेमिफाईनलमा साविक विजेता मनाङमस्र्याङ्दी प्रतिष्पर्धीका रुपमा पाउनेछ ।

आजको चौथो क्वार्टरफाइनल
सिएमजी संकटा र नारायणगज फुटबल क्लब बंगलादेश

तस्विर सौजन्यः युनिस गुरुङ


प्रतिक्रिया दिनुहोस

Loading...