धरान विरुद्ध मनाङको सहज जीत

रञ्जन अधिकारी पोखरा, ९ माघ / डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब सहज जितका साथ १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी धरान फुटबल क्लबलाई ४–१ गोलले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । अब फाईनल पुग्न मनाङले माघ ११ गते संकटा र बंगलादेशको फराशगानी स्पोर्टस् क्लबबीच हुने खेलको बिजेतासँग माघ १३ गते सेमिफाइनल खेल्नेछ। दुई गोलको योगदान दिएका सुजल श्रेष्ठ म्यान अफ द म्याच भए।

पोखरा रंगशालामा आईतबार भएको दोस्रो क्वार्टरफाईनलमा मनाङको जितमा कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले समान २ गोल गरे भने धरानका लागि दीपक राईले सान्त्वना गोल फर्काए । घरेलु मैदानमा गोल गर्न नसकेको भनेर प्रायः आलोचित पोखरेली अनिल गुरुङले यसको जवाफ पहिलो खेलबाटै दिए । टोलीका चार वटै गोलमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलको भूमिका रह्यो । दुई गोल उनले नै गरे भने बाँकी दुई गोलमा अनिलकै सहयोग रह्यो ।

सुजलले अनिलको क्रसमा ३३ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरेका थिए । अनिलले ४१ औं मिनेटमा गोल गरे । उनले आफिज ओलावालेको क्रसमा पहिलो बार च्याप्दै गोल गरे । चोट मुक्त भएर फर्केका रोहित चन्दको क्रसमा अनिलले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । चार मिनेट पछि नै अनिलकै क्रसमा विपक्षी गोलकिपर पूर्ण चेम्जोङ बिट भइसकेपछि सुजलले नजिकबाट गोल गरेका थिए । पहिलो हाफमा दुई गोल व्यहोर्दै दोस्रो हाफमा चाँडैनै थप दुई गोल व्यहोरेको धरानका लागि दीपक राईले ७२ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

धरानको डिफेन्स लाईनले सेट मिलेको मनाङका खेलाडीलाई मार्क गर्न नसक्दा एकपछि अर्को गोल व्यहोर्न बाध्य भयो । २० औं मिनेटमा पेनाल्टी बक्स बाहिर रहेका मनाङका विक्रम लामाको कडा प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
साविक विजेता मनाङले अहिले सम्म ४ पटक आहा रारा गोल्ड कपको उपाधि जितेको छ । २०५८ को क्याराभान गोल्ड कपसहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी ९ पटक फाइनल खेलेको छ । १४ पटकको सहभागितामा मनाङ एकपटक मात्र क्वार्टरफाइनल पुग्न सकेन । थ्री स्टार र नेपाल पुलिस क्लबले पनि समान ४ पटक उपाधि जितेका छन् । सहारा क्लबले २०५८ पहिलो पटक आयोजना गरेको क्याराभान गोल्डकप जोडेपछि पुलिसको खातामा पाँच पटक पुगेको हो । पहिलो खेलमा एपिएफलाई १–० ले हराएको धरान प्रतियोगिताबाट बाहिरियो । क्याराभान सहित १३ औं सहभागितामा धरान दोस्रो चरण पुगेको यो दोस्रो पटक हो । यसपटक पनि क्रमभंग गर्न सकेन । अघिल्ला दुई संस्करणमा भाग नलिएको धरानले १२ औं संस्करणमा मात्र पहिलो खेल जितेको थियो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले समयमै गोल निस्केका कारण खेल सहज भएको र खेलाडी त्यसपछि हल्का रुपमा खेलेको बताए । उनले बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुने भएकाले अहिले त्यसैको लागि तयारीमा रहेको पनि जनाए । बंगलादेशको टोलीको प्रदर्शन हेर्न बाँकी रहेकोले मनाङबाहेक आर्मी प्रतियोगिताको दाबेदार रहेको लोप्साङ बताए ।

धरानका प्रशिक्षक सुवास केसीले खेलाडी घाइते हुनु र पहिलो हाफमै दुई गोल खाएका कारण हार व्यहोर्नुपरेको बताए । उनले शनिबार अभ्यासपछि पोखरा रंगशालाबाट फर्कदाँ बाटोमा बसले बाईक जोगाउने क्रममा भएको सामान्य दुर्घटनामा केहि खेलाडीको घुँडामा चोट लागेको जनाए ।

सोमबारको तेस्रो क्वार्टरफाईनल खेल रमपम झापा ११ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । यसको विजेताले आयोजक सहारा क्लबसँग पहिलो सेमिफाईनल माघ १२ गते खेल्नेछ । झापाले पहिलो खेलमा एएनए यूएसए टीमलाई कर्ण लिम्बुको ह्याट्रिक मद्धतमा ४–१ गोलले हराउँदै क्वार्टरफाईनलका लागि योग्य बनेको हो । प्रतियोगितामा आर्मीको यो दशौं सहभागिता हो । आर्मी गत वर्षको उपविजेता टोली पनि हो । यस्तै, सातौं र आठौं संस्करणमा पनि लगातार फाईनल पुगेको आर्मी दुवै पटक नेपाल पुलिससँग पराजित भएको थियो । पूर्वेली टोली झापा ११ को यो चौथो सहभागिता हो ।

यसैबीच, सहारा एकेडेमीको चेञ्जिङ रुम निर्माण सहयोगार्थ सहारा क्लबलाई सहयोग प्राप्त भएको छ । आईतबारको खेलमा प्रमुख आतिथ्यता गरेका हङकङ निवासी समाजसेवी देव गुरुङले दुई लाख ५१ हजार एक सय सहयोग प्रदान गरेका हुन् । पोखरा लामाचौर घर भएका गुरुङ हङकङमा कानुन व्यवसायीका रुपमा कार्यरत छन् । उनी सहारा हङकङका सल्लाहकार पनि हुन् ।

आजको तेस्रो क्वार्टरफाइनल

रमपम झापा ११ विरुद्ध त्रिभुवन आर्मी क्लब

 

 

तस्विर सौजन्यः युनिस गुरुङ


प्रतिक्रिया दिनुहोस

Loading...