आयोजक सेमिफाइनलमा, पाहुना टोली बाहिरियो

रञ्जन अधिकारी पोखरा, ८ माघ / आयोजक सहारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको सिक्किम युनाइटेड एफसीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो । सिक्किम गत वर्ष पहिलो सहभागितामा पनि क्वार्टरफाइनलमा सहारासँगै पराजित भएको थियो । अब सहाराले आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनल खेल्नेछ ।

पोखरा रंगशालामा भएको निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा साहाराका गोलकिपर सुजित गुरुङले एउटा पेनाल्टी रोके भने अर्को पेनाल्टी सिक्किमका खेलाडीले बल पोष्ट माथिबाट हानेर चुकाएका थिए । आशिष क्षेत्रीको चौथो पेनाल्टीलाई सहजै गोलकिपर सुजितले रोकेका थिए । सिक्किमका लागि दोस्रो पेनाल्टी हानेका सोनाम तोप्देनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।

सहाराका लागि सुसन गुरुङ, शिव सुवेदी, रमेश मगर र कप्तान उत्तम गुरुङले गोल गरेका थिए । सिक्किमका लागि सञ्जय क्षेत्री र फुर्बा छिरिङ लेप्चाले गोल गरेका थिए । त्यसअघि दुवै टोलीले केही मौका पाएका थिए । दुवै टोलीले केही राम्रा गोलका अवसर चुकाउँदा खेल हेर्न उपस्थित झन्डै ५ हजार दर्शकले गोल हेर्न पाएनन् । खेलमा म्यान अफ दि म्याच सिक्किम युनाईटेडका सञ्जय क्षेत्री घोषित भए ।

गत बर्षपनि यी दुई टोलीबीच क्वार्टरफाइनलको पहिलो खेलमा प्रतिस्पर्धा भएको थियो । त्यति बेला सहारा २–० ले विजयी भएको थियो । त्यतिबेला पनि आयोजक सहाराले पहिलो खेल जितेर दोस्रो खेलमा सिक्किमसँग खेलेको थियो भने सिक्किम बाई पाएर सिधै खेलेको थियो ।

सिक्किमको यो दोस्रो सहभागिता हो । सहारा गत बर्ष सेमिफाइनल पुगेको थियो भने टोलीले ११ औं संस्करण जितेको थियो । दुवै हाफमा एक एक आक्रमण क्रसबारमा लागेर ठोक्किएर फर्कनु सिक्किमका लागि दुर्भाग्य सावित भएको थियो । ६१ औं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीको क्रसमा अफजल अन्सारीको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यसअघि, २९ औं मिनेटमा सोनाम तोप्देनको क्रसमा नाडोङ भुटियाको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

खेलपछि सिक्किमका प्रशिक्षक अर्जुन राईले पाएका अवसर सदुपयोग गर्न नसक्नु नै हारको मुख्य कारण भएको बताए । उनले दुई प्रहार पोष्टबारमा लागेर फर्कनु दुर्भाग्य भएको बताए । लगातार दुवै पल्ट सहारासँग पहिलो खेलमै पराजित भएर फर्कनुपरेपछि अब नआउने ? भन्ने प्रश्नमा आमन्त्रण भए पक्कै आउने जवाफ दिए । उनले आफूबाट रेफ्रीप्रति भएको व्यवहारले दुखित भएको भन्दै क्षमायाचना गरे । पेनाल्टी हान्नु अगावै रेफ्रीको निर्णयप्रति सिक्किमे टोली आक्रोशित थिए । खेलको अन्तिम समयमा पाएको फ्रिकिकमा बल किक गर्न नपाउँदै रेफ्रीले खेल टुंगिएको संकेत गर्दै लामो सिठ्ठी फुकेपछि सिक्किम टोली रेफ्रीको निर्णय विरुद्ध आक्रोषित बन्न पुग्यो । केहि बेर मैदानमा तनाब नै भएको थियो ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलमा दुईगोल गरेका मार्टिनले ४० प्रतिशत पनि खेल्न नसकेको जनाए । उनले पाएका अवसर खेर जानु नै खेल लम्बिनुको कारण बताउँदै सुरुमा पाएको अवसरमा मार्टिनले गोल गर्न सकेको भए धेरै मेहनत गर्न नपर्ने धारणा राखे ।

अब आईतबार दोस्रो क्वार्टरफाईनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्ध धरान फुटबल क्लब मैदान उत्रनेछ । धरानले पहिलो खेलमा सशस्त्रको एपीएफलाई १–० गोलले पराजित गर्दै क्वार्टरफाईनल यात्रा तय गरेको हो । डिफेण्डि च्याम्पियन मनाङले चार प्रतियोगितामा उपाधि जितिसकेको छ । उसले २०७२ सँगै २०६०, २०६१ र २०६८ मा पनि उपाधि जितेको थियो । क्याराभान सहित १३ औं सहभागितामा धरान दोस्रो चरण पुगेको यो दोस्रो पटक हो । अघिल्ला दुई संस्करणमा भाग नलिएको धरानले १२ औं संस्करणमा मात्र पहिलो खेल जितेको थियो । अहिले मनाङ जस्तो सशक्त टीम प्रतिद्वन्द्वी पाएको धरान सेमिफाईनल पुगेको खण्डमा इतिहास रच्नेछ ।

आजको दोस्रो क्वार्टरफाइनल
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्ध धरान फुटबल क्लब

Pic. Unish Gurung


प्रतिक्रिया दिनुहोस

Loading...