१५ औं आहारारा गोल्डकप: पुलिसलाई संकटाले हरायो

रञ्जन अधिकारी पोखरा, ७ माघ / एक गोलले पछि परेको खेल उल्टाउँदै सिएमजी क्लब संकटा १५ औं आहारारा गोल्डकपको क्वार्टरफाईनल पुगेको छ । खेल सकिन तीन मिनेट मात्र बाँकी रहेको अवस्थामा प्रतिस्थापित खेलाडी अनिल गुरुङले निर्णायक गोल गरेपछि संकटाले नेपाल पुलिसलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो । विजेता संकटाले अब सेमिफाईनल प्रवेशको लागि माघ ११ गते फराशगानी स्पोर्टिङ क्लब, बंगलादेशको सामना गर्नेछ ।

पोखरा रंगशालामा शुक्रबार भएको अन्तिम प्रिक्वार्टर फाईनल खेलमा जीत दर्ता गर्दै संकटाले दोस्रो खेल खेल्ने यात्रालाई निरन्तरता दिएको हो । तेस्रो पटक सहभागी संकटा अहिलेसम्म पहिलो खेलबाट बाहिरिएको छैन । खेलमा ३५ औं मिनेटमा पुलिसका रवि पासवानले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रविले प्रहार गरेको बल विपक्षी गोलरक्षक विनय श्रेष्ठले रोक्ने प्रयास गरेपनि पहिल्यै गोल भइसकेको थियो ।

पहिलो हाफमा एक गोलले अग्रता लिएको पुलिस दोस्रो हाफमा सुस्तायो । ७३ औं मिनेटमा संकटाले बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । झण्डै ३० यार्डको दुरीमा पाएको फ्रिकिक प्रहारलाई विश्व अधिकारीले सिधै गोलमा परिणत गरेपछि संकटा हौसियो । ६१ मिनेटमा शुशिल केसीलाई प्रतिष्थापन गरेका अनिलले ८७ औं मिनेटमा विश्व अधिकारीको प्रहार विपक्षी रक्षक दिपेश यादवले पूर्ण नियन्त्रणमा लिन सकेनन् र रिबाउण्ड बललाई अनिलले जाली चुमाएका हुन् ।

क्याराभान सहित पाँच पटकको विजेता बन्दै सर्वाधिक सफल टीममा हालसम्म रहेको पुलिस लगातार दोस्रो पटक पहिलो खेलबाटै बाहिरिएको हो । गत वर्ष पनि झापासँग पराजित भएको थियो । खेलमा पुलिसले निकै राम्रा अवसर सदुपयोग गर्न सकेन । २६ मिनेटमै पेनाल्टी बक्सको केही बाहिरबाट भोला सिलवालले गोल गरेपनि पोस्ट माथिबाटै बाहिरियो । ७७ मिनटमा पुलिसका तीर्थ रानाको क्रसमा बुद्ध लामाले नजिकबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । ३३ औं मिनेटमा संकटाका विश्वास श्रेष्ठले पेनाल्टी बक्स बाहिरबाट गरेको फितलो प्रहार पुलिसका गोलकिपर दीपेशले सहजै नियन्त्रणमा लिए । त्यसअघि, १७ मिनेटमा संकटाका दीपेशले एक्लै अघि बढाउँदै पोस्ट नजिकबाट गरेको क्रस पुलिसका गोलकिपर दीपेशले नियन्त्रणमा लिए । यसअघि, संकटा क्लबले १२ औं संस्करण र तेस्रो संस्करणमा दोस्रो चरणसम्म पुगेको थियो ।

पुलिसका प्रशिक्षक कुमार कटुवालले खेलाडीहरुले राम्रो प्रदर्शन गर्न नसकेको बताउँदै गोलरक्षकको कमजोरी देखिएको बताए । नयाँ खेलाडीहरु कच्चा भएको भन्दै उनले समग्रमा जित्ने खेल पनि हारेकामा असन्तोष प्रकट गरे । पोखरामा पुलिसको प्रदर्शन खस्कदैं गएको स्वीकार गर्दै यही तरिकाले ठूलो आशा गर्न नसकिने बताए ।

पोष्ट म्याच कन्फरेन्समा संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरुले समग्रमा राम्रो प्रदर्शन गरेको भन्दै खुशी जनाए । उनले खेलमा फर्किएर पनि जीत हात पार्नु ठूलो सफलता रहेको प्रतिक्रिया दिए ।

शनिबार पहिलो क्वार्टरफाईनलमा आयोजक सहारा क्लब र सिक्किम युनाईटेड एफसी, भारत खेल्दैछन् । सहाराले उद्घाटन खेलमै सुदुरपश्चिम स्पोर्टिङ क्लबलाई ४–० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो भने सिक्किमे टोली बाई पाएर पहिलो खेल खेल्न लागेको हो । गत संस्करणमा पनि नवजनजागृतिलाई ३–० ले हराएर पहिलो क्वार्टरफाईनलमा सहाराले सिक्किमलाई नै २–० ले हराएर घर फर्काएको थियो । सहारा क्लबले १२ औं संस्करणमा उपाधि जितेको थियो । त्यसअघि ११ औं संस्करणमा उपविजेतामा सीमित भएको थियो । सिक्किम युनाईटेड एफसी भने दोस्रा
सहभागितामा सहाराको बदला लिने सुरमा मैदान उत्रनेछ ।

शुक्रबारको खेलसँगै क्वार्टरफाईनल समिकरण पूरा भएको छ । धरानले एपीएफलाई १–०, झापा ११ ले अमेरिकाबाट आएको एएनए टोलीलाई ४–१ गोलले हराउँदै क्वार्टरफाईनलमा स्थान बनाईसकेको छ ।

आजको खेल

सहारा क्लब विरुद्ध सिक्किम युनाईटेड एफसी, भारत


प्रतिक्रिया दिनुहोस

Loading...