१५ औं आहारारा गोल्डकप: कर्णको ह्याट्रिकमा झापा क्वार्टरफाईनलमा

रञ्जन अधिकारी पोखरा, ६ माघ  / झापाका कर्ण लिम्बु नायक बन्दा टोलीले सहज जीतका साथ १५ औं आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । विहीबार भएको तेस्रो प्रिक्वार्टरफाईनलमा अमेरिकाबाट आएको एएनए टोली विरुद्ध लिम्बुको ह्याट्रिक मद्धतले झापा ११ ले ४–१ गोलले नतिजा आफ्नो पक्षमा पारेको हो । झापाका लागि बुद्ध चेमजोङले अर्को गोल थपेका हुन् । पोखरा रंगशालामा पहिलो पटक खेलेको पाहुन टोलीका लागि शिशिर विश्वकर्माले सान्त्वना गोल फर्काए ।

झापाले अब क्वार्टरफाईनलमा माघ १० गते त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी गत वर्षको उपविजेता टोली पनि हो । पूर्वेली टोली झापा ११ को यो चौथो सहभागिता हो । गत संस्करणमा झापा सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ््दीसँग ४–० ले पराजित भएको थियो । १३ औं संस्करणमा पहिलो सहभागितामा थ्री स्टारसँग २–० ले हार व्यहोर्दै पहिलो खेलमै पराजित भएर घर फर्केको थियो । २०५९ मा पहिलो संस्करणमै सहभागी झापा ११ ले थ्रीस्टारलाई १–० ले हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको थियो । राष्ट्रिय लिगमा चौथो स्थानको झापाले थुप्रै प्रतियोगितामा उपाधि उचालिसकेको छ । हालै काकडभिट्टा गोल्डकप जितेको झापा उच्च मनोबलका साथ मैदान उत्रिएको थियो ।

पोखरा रंगशालामा पहिलो पटक टेकेको अमेरिका निवासी नेपाली सम्मिलित एनएनए युएसए टोली भने दाबा गरे बमोजिम प्रदर्शन गर्न सकेन । अमेरिकाबाट यो टोली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारीको कप्तानीमा आएको हो । प्रलयकै स्थानमा ७९ औं मिनेटमा मैदान छिरेका शिशिरले ६ मिनेटपछि सान्त्वना गोल फर्काएको थियो ।

नतिजाले एकपक्षीय जस्तो खेलमा पहिलो हाफमै कर्णले दुई गोलले झापालाई अग्रता दिलाएका थिए । विस्तारै लय समातेको झापाका लागि कर्णले २५ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । पाँच मिनेटपछि नै उनले रजिन धिमालको पासमा दोस्रो गोल गरे । उनले खेलको समाप्तितिर ९० मिनेटमा दिलेन लोक्तानको क्रसमा ह्याट्रिक तथा टोलीका लागि चौथो गोल गरेका हुन् । त्यसअघि ७४ औं मिनेटमा बुद्धले गोल गर्दा कर्णले नै सहयोग गरेका थिए । ८५ औं मिनेटमा शिशिरले गोल अन्तर छोट्याएका हुन् ।

पोष्ट म्याच कन्फरेन्समा झापाका प्रशिक्षक सञ्जय राईले टोली फर्मममा रहेको भन्दै विपक्षी टीम कमजोर पर्नु पनि लाभदायक रहेको बताए । उनले आगामी म्याचमा योगेश गुरुङ समेत सहभागी हुने उल्लेख गरे । यसअघि, काकडभिट्टा गोल्डकप जितेको र फाल्गुनन्द कप जित्दा पनि प्रायः झापाकै खेलाडी सहभागी टीमले जितेको उनले प्रष्ट पारे ।

एएनए अमेरिकी टीमका प्रशिक्षक सुरज थापाले खेलाडीहरु अनुभवी नहुनु र एकपछि अर्को गोलले केहि मनोबल कम हुँदै जानु हारको कारण रहेको बताए । विपक्षी टीम बलियो पर्दा कलिला खेलाडी खुलेर खेल्न नसकेको उनको भनाई थियो ।

शुक्रबारको अन्तिम प्रिक्वार्टरफाईनल खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले सिएमजी क्लब संकटाको सामना गर्नेछ । पोखराको मैदानमा सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबले क्याराभान सहित पाँच पटक उपाधि जितिसकेको छ भने तीन पटक उपविजेतामा चित्त बुझाएको छ । पुलिसले २०५८ मा क्याराभान र २०५९ मा पहिलो संस्करण जितेको थियो । त्यसपछि लगातार २०६०, ६१ र ६२ मा उपाधि विमुख बनेको पुलिस २०६३ मा पोखरा आएन र त्यसपछि तीन पटक लगातार २०६४, २०६५ र २०६६ मा उपाधि जित्न सफल भयो । पुलिस गत वर्ष पहिलो खेलमै आजको विजेता झापा ११ सँग २–० ले हार व्यहोर्दै पोखरा छाडेको थियो । १० औं र ११ औं मा पनि पुलिस पहिलो खेलमै बाहिरिएको थियो ।

संकटा क्लबको भने यो तेस्रो सहभागिता हो । १२ औं संस्करणमा क्वार्टरफाईनलसम्म यात्रा तय गरेको संकटाले जावलाखेललाई १–० गोलले हराउँदा मनाङसँग २–० ले हार व्यहोरेको थियो । तेस्रो संस्करणमा धरानलाई २० ले हराएको संकटा मनाङसँगै क्वार्टरफाईनलमा २–० ले नै पराजित भएको थियो ।

यसअघि, सहारा क्लबले सुदुरपश्चिम स्पोर्टिङ क्लबलाई ४–० र धरानले एपीएफलाई १–० गोलले हराउँदै अन्तिम आठ प्रवेश गरिसकेको छ ।

आजको खेल
नेपाल पुलिस क्लब विरुद्ध सिएमजी क्लब संकटा

Pic. Umesh Pun


प्रतिक्रिया दिनुहोस

Loading...