१५ औं आहा रारा गोल्डकपः धरान क्वार्टरफाईनलमा, एपीएफ १–० गोलले  स्तब्ध

रञ्जन अधिकारी पोखरा, ५ माघ / दीपक राईको निर्णायक गोलको मद्धतमा धरान फुटबल क्लब आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । विभागीय टीम सशस्त्रको एपीएफलाई १–० गोलले हराउँदै धरान दोस्रो पटक आहारारा गोल्डकपको दोस्रो चरणमा पुगेको हो । धरानले क्वार्टरफाइनलमा माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

प्रतिष्पर्धात्मक खेलमा अतिरिक्त समयको अन्तिम समयतिर धरानले खेल आफ्नो पक्षमा पारेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि २० मिनेट समय थप गरिएकोमा दीपकले १३ औं मिनेटमा पेनाल्टी बक्सभित्र बाट बललाई जाली चुमाएको हो । वर्तमान राईको पासमा दीपकले दोस्रो बारतर्फबाट गोल गरे । लगत्तै एपीएफले गोल गर्ने अवसर सिर्जना गरेपनि असफल रह्यो र पहिलो खेलबाटै पोखरा छाड्न बाध्य भयो ।

आहारारा गोल्डकपमा यो सहित ११ पटक सहभागी एपीएफ लगातार तीन वर्ष पहिलो खेलबाटै बाहिरिएको छ । छैटौं संस्करणको फाइनल खेलको एपिएफ त्यसको अघिल्लो वर्ष सेमिफाईनल यात्रा तय गरेको थियो । क्याराभान सहित १३ औं सहभागितामा धरान दोस्रो चरण पुगेको यो दोस्रो पटक हो । अघिल्ला दुई संस्करणमा भाग नलिएको धरानले १२ औं संस्करणमा मात्र पहिलो खेल जितेको थियो । त्यसबेला अर्को विभागीय टीम आर्मीलाई २–१ ले हराएको थियो । यसअघि, आहा राराको चौथो संस्करणमा यी दुई टोलीबीचको निर्धारित र थप समय २–२ को बराबरीपछि टाइब्रेकरमा एपिएफ ४–३ ले विजयी भएको थियो ।

दुवै टोलीले निर्धारित समयमा गोलका केही अवसर पाएर पनि गोल गर्न सकेका थिएनन् । पहिलो हाफमा एपीएफले राम्रा तीन अवसर चुकायो । सातौं मिनेटमा श्याम नेपालीको प्रहार विपक्षी गोलरक्षक पूर्ण चेमजोङले रोके । रिबाउण्ड बललाई रञ्जनले पोष्टको दिशा दिन सकेनन् । १६ औं मिनेटमा नवीन लामाको क्रसमा युवराज खड्काको प्रहार गोलकिपरले रोके । त्यस्तै एपिएफले २७ औं मिनेटमा गोल गर्ने राम्रो मौका खेल फाल्यो । कर्नरमा आएको बलमा राजेन्द्र रावलको प्रहारलाई गोलरक्षकले फेरि जोगाए । गोलरक्षक पूर्ण खेलको म्यानअफ दि म्याच समेत बने ।

धरानले पनि केहि अवसर खेर फाल्यो । ३३ औं मिनेटमा धरानका निशान लिम्बुले बललाई जाली चुमाएपनि फिफा रेफ्री विकास महतले अफसाइड लिए । त्यसअघि, २० औं मिनेटमा धरानका निशानको प्रहार एपिएफका गोलकिपर अमृत चौधरीले रोके । खेलमा दुई जना खेलाडीले पहेंलो कार्ड व्यहोरे । धरानका निशान लिम्बुले ४१ औं मिनेट र एपीएफका रमेश दंगाललाई ५६ औं मिनेटमा रेफ्रीले चेतावनी दिएका हुन् ।

खेलपछि आयोजित पोष्ट म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले फिनिसिङको अभावले हार व्यहोर्नुपरेको बताए । उनले अञ्जन विष्ट स्पेन र रञ्जन विष्ट घाईते अवस्थामा रहेको जनाउँदै पहिलो हाफमा राम्रा तीन अवसर खेर जाँदा समयमा गोल नभएपछि खेलाडीहरुको मनोबल गिरेको बताए ।

धरानका प्रशिक्षक सुवास केसीले पर्याप्त अभ्यास विना नै खेल राम्रै भएको प्रतिक्रिया दिँदै आगामी खेल झनै टफ हुने र तयारी पनि राम्रो गर्ने जनाए । विहीबार तेस्रो प्रिक्वार्टरफाईनलमा एएनए यूएसएसँग झापा ११ मैदान उत्रदैंछ । अमेरिकाबाट आएको नेपालीहरुको सो टीमको पहिलो सहभागिता हो । झापा ११ गत वर्ष सेमिफाईनल पुगेको थियो र मनाङमस्र्याङ्दीसँग पराजित भएको थियो । खेलकुद पत्रकार मञ्च कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यूएसए टीमले आफूहरु जित्न कै लागि पोखरा आएको जनाएको छ। यसअघि, आयोजक सहाराले मंगलबार सुदुरपश्चिमलाई ४–० गोलले हराउँदै क्वार्टरफाईनल प्रवेश गरिसकेको छ ।

आजको खेल
एएनए अमेरिका फुटबल टिम विरुद्ध झापा–११


प्रतिक्रिया दिनुहोस

Loading...