१५ औं आहारारा गोल्डकपः आयोजक सहाराको सुखद् सुरुवात, सुदुरपश्चिम ४–० ले स्तब्ध

रञ्जन अधिकारी  पोखरा ४ माघ / घरेलु टोली सहारा क्लबले १५ औं आहारारा गोल्डकपमा शानदार जीतका साथ सुखद् सुरुवात गरेको छ । अफ्रिकन मुलका खेलाडी मार्टिनको दुई गोलको मद्धतले पाहुना टीम सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबलाई ४–० गोलले हराउँदै क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको हो । अब सहाराले माघ ८ गते भारतको युनाइटेड सिक्किम एफसीसँग अन्तिम चार प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा म्यान अफ दि म्याच समेत बनेका मार्टिनले छैटौं मिनेटमा गोल गर्दै सहारालाई अग्रता दिलाएका थिए । उनले वान भर्सेस वानमा गोल गरेका थिए । २७ औं मिनेटमा रिटार्ड पुनले अर्को गोल थपेका थिए । क्रसमा आएको बल छातीले नियन्त्रणमा लिदै भलीमा गोल गरेका थिए । ३८ औं मिनेटमा पेनाल्टी बक्समा विपक्षी एक रक्षकलाई छलाएर पिटर सेगुनले गोल तेस्रो गोल गरे । ८२ औं मिनेटमा मार्टिनले शिव सुवेदीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि टीम एकतर्फी चार गोल खातामा चढाउँदै अन्तिम आठ पुगेको हो ।

सुदूरपश्चिमले कुनै पनि समय खेलमा घरेलु टोलीलाई दबाब दिन सकेन । तर उसले केहि अवसर भने गुमायो । सहाराका गोलरक्षक सुजित गुरुङले केहि प्रहार विफल पारेका थिए । २० औं मिनेटमा सहाराको अर्को अवसर गुमेको थियो । विपक्षी किपर टीकेन्द्र थापाले मुस्किलले रोके । दुई मिनेटपछि नै सुदुरपश्चिमको प्रहार सहाराका किपरले मुस्किलले बचाए ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले सुरुआतमै गोल गर्न सकेका कारण जित सहज भएको बताएका छन् । पहिलो अवसर नै गोलमा परिणत गर्नु नै जीतको आधार बनेको उनको भनाई छ । सुदुरपश्चिम टोलीका म्यानेजर सुशन जोशीले सुदुरपश्चिमबाट हतारमा आएको र रेस्ट नपुगेकोले खेलाडीहरु थकित भएको जनाउँदै सुरुवातमै गोल खाएपछि चाँडै नै दबाबमा आएको बताए । उनले खेलाडीहरु घाईते भएकाले पनि समस्या भएको बताए । कप्तान मनिराम चौधरीले यस्तो लज्जास्पद हार पहिलोपल्ट व्यहोरेको र टीम सेट नभएकोले हार व्यहोरेको बताए ।

गत संस्करणमा पनि सहाराले उद्घाटन खेलमै नवजनजागृतिलाई ३–० गोलले हराउँदै क्वार्टरफाईनलमा युनाईटेड सिक्किम एफसी भारतसँग खेलेको थियो । त्यसबेला सिक्किमलाई क्वार्टरफाईनलमा २–० ले हराएको थियो । ११ औं संस्करणमा थ्रीस्टारसँग फाईनलमा १–० ले पराजित भएपनि २०७० को १२ औं संस्करणमा सहाराले मनाङमस्र्याङ्दीलाई १–० ले नै पराजित गर्दै उपाधि जितेको थियो । यो नै सहाराको उच्चतम् नतिजा हो । गत वर्ष सहारा सेमिफाईनलमा आर्मीसँग २–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

दुई वर्ष अघि १३ औं संस्करणमा सुदुरपश्चिमको टीमले राम्रो प्रदर्शन गरेको थियो । तर त्यतिबेलाको टीम यो स्पोर्टिङ क्लब थिएन । सुदुरपश्चिम फुटबल क्लब, कैलालीले पहिलो खेलमै सशस्त्रको एपीएफ विरुद्ध १–०, क्वार्टरफाईनलमा अल्डरसर्ट टाउन एफसी विरुद्ध ३–० ले जीत हात पारेको थियो भने सेमिफाईनलमा मनाङसँग २–० गोलले पराजित भएको थियो ।

आजको खेल

सशस्त्रको एपिएफ विरुद्ध धरान फुटबल क्लब


प्रतिक्रिया दिनुहोस

Loading...