आठौं मिडिया कप फुटबल प्रतियोगिता: कान्तिपुरद्वारा उपाधि रक्षा

काठमाण्डौ ४ माघ / कान्तिपुर मिडिया ग्रुपले आठौं मिडिया कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन कान्तिपुरले पूर्व विजेता इमेज च्यानललाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । उपाधिसंगै कान्तिपुरले ५० हजार तथा इमेजले २५ हजार नगद पुरस्कार जिते ।

निर्धारित ६० मिनेटको खेलमा सुनील ताम्राकारले ५ औं मिनेटमा गोल गर्दै इमेजलाई अग्रता दिलाएका थिए । कान्तिपुरका सन्तकुमार श्रेष्ठले ५५ औं मिनेटमा गोल फर्काएपछि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । थप गरिएको १५ मिनेटमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
कान्तिपुरका सन्तकुमार श्रेष्ठ, सुरज मोक्तान, समिर तामाङ, निराजन कार्की र नवीन खड्काले पेनाल्टी अवसरलाई गोलमा परिणत गरे । इमेजका लागि सम्बन्धम प्रधान, जनक गुरुङ, सुनील ताम्राकार र विजय कार्कीले गोल गरे । इमेजका योद्धा थापा गोल गर्नबाट चुकेका थिए ।

नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा इमेजका देवेन्द्र महर्जन उत्कृष्ट खेलाडी तथा एपी वान टेलिभिजनका विवेक श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । रेडियो नेपाल ‘फेयर प्ले’ टिम घोषित भयो । प्रतियोगिता अवधिभर ४ गोल गरेका कान्तिपुरका सुरज मोक्तान सर्वाधिक गोलकर्ता बने ।

नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमिरे मिडिया कपका उत्कृष्ट खेलाडी इमेजका देवेन्द्र महर्जन (बायाँ) लाई पुरस्कृत गर्दै ।

विजेतालाई सांसद् मोहनकुमार राई, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट, नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमिरे र नेपाल मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले पुरस्कृत गरे । पुस २४ गतेदेखि सुरु प्रतियोगितामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...