दोस्रो रुस्लान कप टी–२० क्रिकेट: उपाधिका लागि आर्मी पुलिससँग भिड्ने

माघ ३  काठमाडौं । राजधानीमा जारी दोस्रो रुस्लान कप टी–२० क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब मंगलबार आर्मीले उपाधिका लागि अर्को विभागीय टोली पुलिसको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आर्मीले दिएको १८८ रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो । सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीका बिजय रानाले ३८ तथा रोमन बामले २५ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन जोडेको थियो । आर्मीका लागि सागर पुनले ५७ रन जोडे । त्यस्तै राजेश पुलामीले ५५ तथा अनिल कुमार मण्डलले ३० रन जोडे ।

 


प्रतिक्रिया दिनुहोस

Loading...