१५ औं आहा ! रारा गोल्ड कपको तयारी पूरा

खेलदैनिक पोखरा, २ माघ / सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा यही माघ ४ गते देखि सुरु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को तयारी पूरा भएको छ ।

माघ १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । प्रतियोगितामा तीन विदेशी सहित नेपालका चर्चित क्लबहरु गरी यसअघि झैं १२ टीमको सहभागिता रहने क्लबका अध्यक्ष बीरभद्र आचार्यले बताए ।

प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्रको एपिएफ कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी, रमपम झापा–११ फुटबल क्लब, युनाईटेड सिक्किम फुटबल क्लब, भारत, फ्राशगञ्ज एस सि, बंगलादेश, ए एन ए यू एस ए फुटबल टिम र आयोजक सहारा क्लब पोखरा सहभागी हुने क्लवका अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिनेछ भने विधागत उत्कृष्टलाई पनि पुरस्कृत गरिनेछ ।

माघ ४ गते हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध सुदुरपश्चिम–११ स्पोर्टिङ्ग क्लब, धनगढी बिच प्रतिष्प्रर्धा हुने भएको अध्यक्ष आचार्यले बताए । प्राविधिक कारणले गर्दा खेल तालिका आईतबार सार्वजनिक गर्न नसकिएकोे उनले बताए ।

प्रत्येक दिन गोलाप्रथाबाट उक जना दर्शकलाई माईक्रो म्याक्स मोबाईल प्रदान गरिने भएको छ भने प्रतियोगिता अवधिभर एक जना भाग्यशाली दर्शकलाई एक तोला सुनको सिक्का प्रदान गरिने भएको छ । सहारा हङकङले उक्त पुरस्कार प्रायोजन गरेको हो । नेपाल टेलिकमको तर्फबाट प्रतियोगिता अवलोकन गर्न प्रबेश टिकट काटेर गएका दर्शकहरुलाई ५० रुपैया ब्यालेन्स सहितको सिम कार्ड वितरण गरिने भएको छ । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।

यसैबीच, पत्रकार सम्मेलनमा मुख्य प्रायोजक हिमश्रीफुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले सहाराले गरेको पुण्य कार्यमा साथ दिन प्रायोजन गर्दै आएको बताउदै राम्रो काम गरेकोले आफ्नो शेष पछि पनि प्रालिले सकुन्जेल निरन्तरता दिने जनाए। क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आहा रारा पोखराको इज्जतसँग जोडिएकोले यसलाई सफल पार्नु पोखरेलीको कर्तव्य नै भएको बताए ।

आहा रारा गोल्ड कपमा म्यान मनि यस बर्षपनि प्रदान गरिने भएको छ । १२ टिमको सहभागिता हुने प्रतियोगितामा प्रि–क्वाटर फाईनल खेल जित्ने टिमले २० हजार र पराजित भएको टिमलाई एक खेल खेले बापत प्रोत्साहन रकम १० हजार दिने भएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए । त्यसैगरी, क्वाटरफाईनल विजेताले ३० हजार र पराजित टिमलाई २० हजार प्रदान गरिने भएको छ । सेमिफाईनल विजेता तथा पराजित भएको टिमलाई ४०÷४० हजार प्रदान गरीने भएको छ । क्वाटरफाईनल देखि प्रबेश टिकटमा रारा तथा अन्य हिमश्री फुड्सका उत्पादनका चाउचाउ वितरण गरिने भएको महासचिव केशवराज बरालले बताए ।

खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...

Uncategorized