एपीएफ बाहिरियो, हिमालयन ह्वाइट हाउस क्वाटर फाइनलमा

पौष २८ काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी दोस्रो रुस्लान कप टी–२० क्रिकेटको पहिलो चरणबाट बाहिरिएको छ । पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपीएफ क्लब बिहीबार नेपाली राइनोजसँग ५ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा पारस खड्काको कप्तानीमा रहेको एपीएफले दिएको १२४ रनको विजय लक्ष्य नेपाली राइनोजले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । जितसँगै नेपाली राइनोजले क्वाटरफाइनलमा स्थान पक्का गर्यो । शरद भेषवाकरको कप्तानीमा रहेको नेपाली राइनोजको लागि सोनु तामाङले अविजित ३३ रन जोडे । त्यस्तै कप्तान भेषवाकरले अविजित २०, जितेन्द्र ठकुरीले ३२ तथा संजय श्रेष्ठले २६ रन जोडे । एपीएफका लागि बसन्त रेग्मीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनायो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफका लागि भुपेन कार्कीले ३३ रन जोडे । राष्ट्रिय खेलाडीहरु जम्न नसकेको खेलमा कप्तान पारस, आरिफ शेख र सुबास खकुरेलले समान १८–१८ रन जोडे । नेपाली राइनोजका शरद भेषवाकरले दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गत त्रिवी क्रिकेट मैदानमा भएको अर्को खेलमा हिमालयन ह्वाइटहाउस कलेजले जित हासिल गर्यो । हिमालयनले पिसी फाइटर ११ लाई १०७ रनले पराजित गर्यो । जितसँगै हिमालयन क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । अब हिमालयनले क्वाटर फाइनलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।
हिमालयनले दिएको १७० रनको विजय लक्ष्य पछ्याउने क्रममा पीसी फाइटर ११ मात्र १६ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । पीसीका लागि नरेश चन्दले २२ रन बनाए । हिमालयनका महेबुब अलामले ३ तथा सुदिप ढुंगाना र हसिम अन्सारीले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हिमालयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६९ रन जोडेको थियो । हिमालयनका लागि महेबुब आलमले ५१ तथा सुबेन्दु पाण्डेले ३८ रन जोडे । त्यस्तै प्रनित थापा मगरले ३२ तथा अमर सिंह रौतेलाले २५ रन जोडे । पिसिका चन्द्रदेव जोशीले ३ विकेट लिए ।

काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा जारी प्रतियोगितामा १६ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनल पुग्ने टिमले २५ हजार पाउने छन् भने क्वाटरफाइनलमा पुग्ने टोलीले ५ हजार बोनस पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...