‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्डबाट ३३ खेलाडी सम्मानित

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले आफ्नो क्लबका विभिन्न खेलका खेलाडीलाई सम्मानित गरेको छ । एपीएफ क्लबले हल्चोकमा आइतबार एक कार्यक्रमका बीच पुर्वान्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा पदक बिजेतासहित ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ बाट सम्मानित गरेको हो ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहमा क्लबले करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ जना खेलाडीहरुलाई भने ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको छ ।

यस्तै ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्डबाट मिलन राई (पुरुष फुटबल), अनिता बस्नेत (महिला फुटबल), महेन्द्र श्रेष्ठ (पुरुष भलिबल), विनिता बुढाथोकी (महिला भलिबल), विशाल प्रधान (पुरुष ब्याडमिन्टन), शिक्षा श्रेष्ठ (महिला व्याडमिन्टन), बसन्त रेग्मी (पुरुष क्रिकेट) , करुणा भण्डारी (महिला क्रिकेट), मनोज ठगुन्ना (पुरुष ह्याण्डबल), उमा राई (महिला ह्याण्डबल), पुरन राई (पुरुष बक्सिङ), माला राई (महिला बक्सिङ), विजय लामा (पुरुष कराते), अनु अधिकारी (महिला कराते), भरत बोहरा (पुरुष तेक्वान्दो) र अप्सरा कार्कीले (महिला तेक्वान्दो) पनि यो अवार्ड प्राप्त गरेकी छिन् ।

त्यस्तै पुरुष उसुका मंगलप्रसाद थारु, महिला उसुकी सुस्मिता तामाङ्, पुरुष एथलेटिक्सका गोविन्द पार्की, महिला एथलेटिक्स कान्छीमाया कोजु, पुरुष टेवुल टेनिस शिवसुन्दर गोठे, महिला टेवुल टेनिस सेलिखा खड्की, आईटीएफ टेक्वान्दोका  श्यामकृष्ण श्रेष्ठ र जुडोका देविका खड्काले पनि ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड पाएका छन् ।

सम्मानित हुने खेलाडीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक दुर्जकुमार राईले सम्मानित गरेका थिए । यस्तै कार्यक्रममा महानिरीक्षक राईले नेपाल एपीएफ क्लवको पुरुष फुटबल टिमलाई पाँच वर्षका लागि एक करोड ११ लाख रुपैयाँको प्रायोजन सम्झौताका साथै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो क्लवका खेलाडीहरुलाई खेल पोशाक तथा ट्रयाकसुट उपलब्ध गराउने अग्नी ग्रुप काठमाडौंका डाइरेक्टर अर्जुन शर्मा, एन्फाका महासचिव धिरेन्द्र प्रधान, चौधरी ट्रेडर्सका प्रमोदप्रसाद चौधरी र आर.जे. स्पोर्टसका रमेश रुपाखेतीलाई समेत कदर पत्र प्रदान गर्दै सम्मानित गरेका थिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगाएतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...