माघको तेस्रो साता पोखरामा महिला र पुरुषको राष्ट्रिय भलिबल प्रतियोगिता हुने

खेलदैनिक २४ पुष पोखरा : पर्यटकीय नगरी पोखरामा माघको तेस्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघको १८ गतेदेखी २२ गतेसम्म महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लब र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए।

लिगकम नकआउटको आधारमा हुने खेल पोखरा रंगशालामा हुनेछ। रंगशालाभित्र निर्माण भईरहेको भलिवल ट्रेनिङ सेन्टरमा अस्थायी भलिबल कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाईने पौडेलले बताए।

कास्की जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगितालाई सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहनेछ। नेपाल भलिबल संघको स्वीकृतिमा आयोजनामा हुने प्रतियोगितामा पश्चिमाञ्चल भलिवल संघ र जिल्ला भलिवल संघ कास्की सहयोगीको रुपमा रहेको छ ।

सृजनाले ७ लाख दिने

प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सृजना विकास केन्द्रबीच प्रतियोगितामा मुख्य प्रायोजन गर्नेबारे सम्झौता भएको हो।

सम्झौता पत्रमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका थिए। सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिबल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको बताउँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताए।

प्रतियोगिताको विजेतालाई १ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, प्रतियोगितामा विभिन्न विधामा सर्बोत्कृष्ट हुने खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए।

प्रतियोगिताका लागि कुल २५ लाख संकलन र १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। बचत रकम भलिवल टे«निङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए। प्रतियोगिता हेर्न दर्शकले टिकट काट्नुपर्ने छ।

पहिलो लिग चरणका खेलहरुका लागि एक सय, सेमीफाइनलका खेलहरुका लागि एकसय पचास र फाइनल खेल हेर्नका लागि दुई सय रुपैयाँ टिकटदर तोकिएको उनले जानकारी दिए। टिकटबाट संकलन भएको रकममध्ये दश प्रतिशत रकम सृजना विकास केन्द्रद्वारा महतगौंडामा सञ्चालित सृजना वालगृहमा आश्रित द्वन्द्व प्रभावित वालवालिकाको लालनपालनमा खर्च गरिने समितिका अध्यक्ष पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस

Loading...