ढोरपाटन महिला डबल लिग भलिबलको तयारी पूरा


खेलदैनिक पुस २१ काठमाडौं । सर्वाधिक पुरस्कार राशिको ढोरपाटन ब्लु स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणको च्याम्पियनसिपको सम्पूर्ण तयारी ूुरा भएको जनाएको हो ।

शनिबारबाट सुरु भई आगामी माघ ८ गतेसम्म संचालन हुने प्रतियोगिता नयाँ बसपार्क्स्थित भलिबल कोर्टमा चल्नेछ । प्रतियोगितामा विभिन्न १० टिमको सहभागिता रहेको छ । पहिलो लिग माघ तीन गतेसम्म चल्नेछ । अंकको आधारमा उत्कृष्ट आठ टिमले दोस्रो लिगमा सहभागिता जनाउने क्लबका अध्यक्ष मानबिर छत्यालले जानकारी दिए ।

सर्वाधिक पुरस्कार राशिको महिला डबल लिग भलिबलको विजेताले तीनलाख २० हजारसहित रनिङशिल्ड र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् ।

यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिने छ । त्यस्तै गरी उत्कुष्ट, स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।

प्रतियोगितामा गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज रहेका छन् । रिड मोडलको प्रतियोगितामा पहिलो सहभागिता हो ।

सोही अवसरमा जगदम्वा मोटर्सका बजार अधिकृत विक्रम पौडेलले क्लबका अध्यक्ष मनवीर छन्त्याललाई पाँच थान स्कुटीको चावी हस्तान्तरण गरेका थिए । चावी हस्तान्तरणपछि जगदम्बाका विक्रम पौडेलले ढोरपाटन भलिबललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...