धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट टिम र कप्तानी घोषणा

खेलदैनिक पुस २१ काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको चौथो संस्करणमा सहभागी हुने टिम र कप्तान घोषणा गरिएको छ । आगामी चैत पहिलो साता देखि हुने डिपिएल क्रिकेटको लागि आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै ६ टिम र कप्तान घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागिता जनाउने ६ टिमको नाम देशभरिका विभिन्न शहरको नामबाट राखिएको छ । र, यस सस्करणमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङस, कन्चनपुर आईकोनिक र काठमाडौ गोल्डेन्सले सहभागिता जनाएका छन । सबै सहभागी टिमका कप्तानहरू राष्ट्रिय टिमका सदस्यहरू छन ।

प्रत्येक टिमका कप्तानी लक्की ड्रबाट घोषणा गरिएको हो । प्रत्येक टिमका कप्तानले १ लाख ५० हजार पारिश्रामिक पाउनेछन् । राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काले टिम चौराहाको कप्तानी सम्हाल्नेछन् ।

उपकप्तान ज्ञानेन्द्र मल्लले सीवाईसी अत्तरियाको कप्तानी सम्हाल्नेछन । त्यस्तै विराटनगर टिमको कप्तानी शरद भष्वाकर, काठमाडौं गोल्डेन्स बसन्त रेग्मी, कन्चनपुर आईकोनिक बिनोद भन्डारी र रूपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौचनले सम्हाल्नेछन् । धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा हुने चौथो संस्करण आगमी चैत ५ गतेबाट सुरू हुँदैछ ।

सन् २०१० देखि सुरु भएको एसपीए कप तथा अघिल्लो वर्ष भएको धनगढी क्रिकेट लिगलाई मर्जर गरी धनगढी प्रिमियर लिग आयोजना गर्न लागिएको हो । टी–ट्वान्टी फरम्याटमा हुने यस धनगढी प्रिमियर लिगको चौथो संस्करणको बिजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उपविजेताले भने ७ लाख पाउनेछ ।

प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् । यसअघि प्रथम हुने टिमले पाँच लाख पुरस्कार पाएको थियो । यस्तै आयोजकले लिगमा सहभागी हुने खेलाडीको नाम दर्ता गर्नेसमय सकिएको जनाएको छ । र, दर्ता भएको खेलाडीहरुको पुस २३ गते अक्सन गरिनेछ ।

अघिल्लो वर्ष जस्तै यसवर्ष पनि खेलाडीहरुलाई तीन वर्गमा अक्सनमा राखिएको छ । लिलामीका लागि राष्ट्रिय टोलीका खेलाडीहरुलाई ५० हजार, यू–१९ राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीका लागि ३० हजार र बाहेकका खेलाडीका लागि २० हजार न्यूनतम मूल्य तोकिएको छ । यसमा बढाबढ गरेर खेलाडी किन्न सकिनेछ ।

प्रतियोगितामा हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिनेछ । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । उसले तेस्रो र चौथो टिमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिता अञ्चल प्रहरी मैदानमा हुनेछ भने फाप्ला मैदानलाई पनि वैकल्पिक मैदानको रुपमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...