मनाङलाई पराजित गर्दै आर्मी खप्तड गोल्डकपको फाइनलमा

साविकको विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत शनिबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आर्मी गत सिजन पहिलो खेलबाटै बाहिरिएको थियो । आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । मनाङका लागि हेमन गुरुङले एक गोल गरे ।

खेलमा शुरुवाती अग्रता भने मनाङले लिएको थियो । खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिएको थियो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए । तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । ४५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अमीलाई अग्रता दिलाए । त्यसअघि ४२ औं मिनेटमा नवयुगले गोल गर्ने सुन्दर मौक खेर फालेका थिए । प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेल्दै गोल गर्ने मौकाहरु बनाएका थिए । खेलको ६१ औं मिनेटमा सुजल श्रेष्ठले पाएका राम्रो अवसर उनले खेर फालेका थिए । त्यस्तै ७७ औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापामगरसँग ‘वान भर्सेस वान’ को मौका पनि गुमाएका थिए । ८८ औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । आर्मीका नवयुग श्रेष्ठ खेलको म्यान अफ द म्याच घोािष्त भए । उनले जनही १० हजार रुपैया प्राप्त गरे ।

जितसँगै आर्मी सजनको चौथो उपाधि नजिक पुगेको छ । आर्मीले यसअघि विकास रनिङ शिल्ड, सताक्षी गोल्डकप र मेचाी नेत्रालय काकडभित्ता गोल्डकपको उपाधि जितेको थियो । अब आर्मीले उपाधिका लागि सोमबार आयोजक सुदुरपश्चिम र एपीएफबीचको विजेतासँग खेल्नेछ । यि दुईबीचको खेल आइतबार धनगढी रंगशालामा हुनेछ ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको मिहेनतका कारण जित हात पार्न सकिएको बताए । ‘शुरुमै गोल खाएपनि समयमै गोल फर्काउन सक्दा खेलाडीमा मनोवल बढ्यो । मनाङ थकित भएको मौकाको फाइदा उठाउन सफल भयौ ।’ प्रशिक्षक न्यौपाने भने, ‘फाइनलमा जुन टोली आएपनि जितको लागि खेल्ने हाम्रो लक्ष्य हुनेछ ।’

हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आयोजकल बनाएको टाइसिट प्रति असन्तुष्ट जनाए । ‘हिजोको आजै खेल्नुपर्दा हाम्रा खेलाडीले थकित भएर खेल्न सकेन । आयोजकले टाइसिट कुन नियममा बनाएको हो ।’ प्रशिक्षक लोप्साङले भने, ‘कुनै टोलीले एक दिन खेलेर ८÷९ दिनको विश्राम पाएको छ । कुनै टोलीले २४ घण्टा नबित्दै दोस्रो खेल खेल्नु परेको छ । अनि कसरी सकरात्मक नतिजा ल्याउन सकिन्छ । उनले शारीरिक रुपमा बलियो आर्मीविरुद्ध थकित भएका कारण अग्रता लिएर पनि हार्नु परेको बताए । मनाङले शुक्रबार अग्नि रुपन्देही–११ सँग प्रतिस्पर्धा गरेको थियो ।

पुस २१ गतेबाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५÷१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘ए’ डिभिजनका विभिन्न १२ क्लबको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...