छ दशकपछि विश्वकपमा वेल्स (भिडियोसहित)

काडमाडौं (खेलदैनिक) । युरोपियन देश वेल्सको प्रतिष्ठित फिफा विश्वकप खेल्ने सपना ६ दशकपछि पूरा भएको छ । युरोपियन छनौटको पाथ ए तर्फ प्ले अफ फाइनलमा वेल्सले आइतबार युक्रेनलाई १–० ले हराउँदै यसै वर्ष कतारमा हुने विश्व फुटबलको कुम्भमेलामा ऐतिहासिक स्थान बनाउन सफल भएको हो ।

स्मरण रहोस, वेल्सले यसअघि अन्तिमपटक सन् १९५८ को विश्वकप खेलेको थियो । आइतबार घरेलु मैदान कार्डिफमा सम्पन्न खेलमा वेल्सका लागि आत्मघाती गोल निर्णायक बन्यो ।

पहिलो हाफतर्फ ३४औं मिनटमा वेल्सका लागि गारेथ बेलले प्रहार गरेको फ्रिकिक बललाई युक्रेनका कप्तान आन्दे यर्मोलेन्कोले दुर्भाग्यपुर्ण रुपमा आत्मघाती गोल गर्न पुगेका थिए । खेलमा युक्रेनको पनि बराबरी गर्ने अवसरहरु थियो । तर पाहुना टोलीले त्यसलाई सदुपयोग गर्न सकेन ।

युरोपियन प्ले अफ छनौटबाट यसअघि नै पोर्चुगल र पोल्याण्डले स्थान बनाईसकेका छन् । वेल्स छनौट भएसँगै फिफा विश्वकपमा युरोपबाट छनौट हुने सबै टोलीको टुंगो लागेको छ । फिफा विश्वकपको समूह बी मा परेको वेल्सले छिमेकी राष्ट्र इङल्याण्डसँगै अमेरिका र इरानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...