प्रिमियर लिग इतिहासमा सिटी बन्यो दोस्रो सफल क्लब

काठमाडौं (एजेन्सी) । आइतबार राती रोमाञ्चक पूनःरागमनका साथ इङलिस प्रिमियर लिगको उपाधि जित्न सफल साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगको इतिहास मै दोस्रो सफल क्लब बनेको छ ।

लिगको आफ्नो अन्तिम खेलमा सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्ला माथि ३–२ को सनसनीपूर्ण जित निकाल्यो र निर्णायक मानिएको खेलमा महत्वपूर्ण तीन अंक हात पार्दै छैठौं पटक लिग जित्न सफल भयो ।

प्रिमियर लिग उपाधि जित्ने सर्वाधिक सफल क्लब सिटी कै शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड रहेको छ । युनाइटेडले कुल १३ पटक लिग उपाधि जितेको भने सिटी ६ उपाधिका साथ दोस्रो स्थानमा छ ।

यस सिजन ३८ खेलबाट ९३ अंक जोडेको सिटी शिर्ष स्थानमा रहँदा उसलाई कडा टक्कर दिएको लिभरपुल ९२ अंकका साथ दोस्रो स्थानमा रह्यो । लिभरपुलले पनि आइतबार वुल्भरह्याम्पटनमाथि ३–१ को प्रभावशाली जित निकाल्यो तर दुर्भाग्यपुर्ण रुपमा लिग उपाधि भने जित्न सकेन ।

त्यस्तै आइतबार नै वाटफोर्डमाथि २–१ को जित निकालेको चेल्सी ७४ अंकका साथ तेस्रो स्थानमा रह्यो भने नर्विचलाई ५–० ले हराएको टोटेनह्याम चौथो स्थानमा रह्यो । यी दुवै टोली आगामी सिजनको च्याम्पियन्स लिगका लागि पनि छनौट हुन सफल भए ।

म्यानचेष्टर युनाइटेड लिगको अन्तिम खेलमा पनि क्रिस्टल प्यालेससँग १–० ले पराजित हुन पुग्यो । आर्सनलले भने इभर्टनमाथि ५–१ को जित निकाल्दै सुखद समापन गर्न सफल भयो । त्यस्तै यस सिजन बर्नली, वाटफोर्ड र नर्विच रेलिगेशनमा पर्न बाध्य बने ।


प्रतिक्रिया दिनुहोस

Loading...